काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गुणस्तर सुधार अभियानअन्तर्गत लुम्बिनी र बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरेको छ।
सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको एनसेलले बताएको छ। एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमतीको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन्।
त्यस्तै, लुम्बिनीको भूमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको हो। यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो।
फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो।
सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न अफर पनि ल्याइरहेको छ। कम्पनीका तीन वटा डबल मजा प्याक सञ्चालनमा छन्। १५० मा सुरु हुने यो प्याकमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरे डबल डेटा बोनस प्राप्त गर्न सक्छन्।
यस्तै, इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुटको विशेष अफरअन्तर्गत ग्राहकले अझ सुलभ शुल्कमा भारत भ्रमणका बेला सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्छन्। सेवामा थप सुधार हुँदै गएकाले ग्राहकले अनलाइन बैंकिङ कारोबारलगायत कामका लागि एनसेल नम्बर रोजिरहेको र प्रयोग गरिरहेको दाबी कम्पनीको छ।
एनसेलले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ।