काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले होटल क्षेत्रलाई उद्योगको मान्यता दिएर राज्यबाट उपलब्ध सुविधा पहुँचमा लैजाने प्रतिबद्धता जनाएका छन्।
लामो समयदेखि होटल व्यवसायीले उद्योगको मान्यता दिन सरकारसँग लबिइङ गरिरहेका बेला पर्यटनमन्त्री तामाङले सम्बन्धित मन्त्रालयसँग छलफल अगाडि बढाएर टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका हुन्।
होटल एसोसिएसन अफ नेपाल(हान)ले पहिलो पटक सार्वजनिक गरेको फेस्टिभल क्यालेन्डर विमोचन गर्दै मन्त्री तामाङले अरु उद्योगले पाउने सेवा सुविधा होटललाई उपलब्ध गराइने बताए।
हानले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार गरिएको २०८१ को वार्षिक टेबुल–क्यालेन्डर प्रकाशन गरेको छ।
पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचारप्रसार भई विदेश्ी पर्यटकको आकर्षण बढ्ने हुँदा मुलुकको पर्यटन प्रर्वद्धनमा अग्रसर भई निजी क्षेत्रसँगको समन्वयमा काम गर्ने बताए।
उनले आतिथ्यसम्बन्धी क्लाउडवेस इ–लर्निङ तालिम कोर्ष सुरुआतको घोषणा गरे। कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए।
संघका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राबारे सोधपुछ हुने गरेकाले उक्त क्यालेन्डर प्रकाशित गरेको उनको भनाइ छ।
क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टुर अपरेटरका साथै गैरआवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगमार्फत वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकको नेपाली मौलिक चाडपर्व जात्राप्रति बढ्दै गएको आकर्षणलाई सम्बोधन गर्ने प्रयास गरिएको उनले बताए। महासचिव साजन शाक्यले नेपालमा होटलले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए।