काठमाडौं। चालू आर्थिक वर्षको आठ महिने अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको २०८०/८१ को आठ महिने तथ्यांकमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भएको देखिएको हो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव ९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।
मूल्यवृद्धि ४.८२ प्रतिशत
राष्ट्र बैंकले मूल्य वृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैकले बिहीबार सार्वजनिक गरेको आठ महिने तथ्यांकअनुसार फागुनसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको हो।
माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत थियो। गत वर्षको फागुनमा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार फागुनमा उपभोक्ता मूल्यवृद्धि दर ४.८२ प्रतिशतमा समेटिएको छ। अघिल्लो वर्षको फागुनमा ७.४४ प्रतिशत थियो। फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।