काठमाडौं। लगानी बोर्ड बैठकले विभिन्न चार परियोजनाका लागि १ खर्ब बराबरको लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षताको ५७औं बैठकले विभिन्न चार परियोजनाका लागि १ खर्ब बराबरको लगानी स्वीकृत गरेको हो।
बोर्ड बैठकले कोहलपुर वाणगंगामा रहेको सौर्य ऊर्जा परियोजना, तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना, सुपर तमोर जलविद्युत् आयोजना र अपर मोरङ ए जलविद्युत् आयोजना गरी चार परियोजनाका लागि करिब १ खर्ब बराबरको लगानी स्वीकृत गरेको बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए।
बैठकले १६६ मेगावाटको सुपर तमोरमा ३४ अर्ब ५९ करोड, १३९ मेगावाटको लोअर मनाङ मर्स्यांदीमा ३३ अर्ब ४१ करोड, ४२ मेगावाटको अप्पर मोदी 'ए'मा १० अर्ब ८ करोड र २५० मेगावाटको सोलार राइजेन इनर्जीमा २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।
बैठकले सौर्य ऊर्जा परियोजनाका लागि आगामी लगानी सम्मेलनमा पीडीए सम्झौता गर्ने गरी परामर्शका लागि वार्ता समिति गठनको निर्णय गरेको उनको भनाइ छ। यस्तै, अपर मर्स्याङ्दी जलविद्युत् परियोजना सञ्चालन मोडालिटीबारे वार्ता समिति गठन गर्ने निर्णय बैठकले गरेको बोर्डले जनाएको छ। बैठकले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्ति विषयमा अध्ययन गर्ने गठित समितिलाई एक महिनाको समय थपेको छ।
बैठकले सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि वाणगंगा र कोहलपुरमा सर्वेक्षण अनुमतिपत्र दिने निर्णय भएको उपाध्यायले जानकारी दिए। बैठकले रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन गरेको रि–निकोला कम्पनीको बैंक जमानत म्याद थप गर्ने निर्णय भएको बताए।
यस्तै, अरुण तेस्रो जलविद्युत परियोजनामा सीधै समझदारी गर्ने विषय मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय बोर्ड बैठकले पारित गरेको छ। तमोर जलाशययुक्त परियोजनाबारे विवादित विषयलाई समाधान गर्न गठित समितिको म्याद थपिने भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानी ढाँचा अध्ययन गर्न गठित समितिको म्याद थप्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ।