काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीलाई लगानी र व्यापारका लागि ठूलो अवसर रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताएका छन्।
नयाँदिल्लीस्थित नेपाली दूतावास आयोजना गरेको ‘द पावर समिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले धेरै ऊर्जाका आयोजना अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि नेपालमा अहिले सबैभन्दा ठूलो अवसर आएको बताएका हुन्।
‘नेपालमा सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भइसकेको छ। यसले भारतीय लगानीकर्तालाई लगानीका लागि ठूलो अवसर निर्माण भएको छ। ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेसिन र उपकरणसमेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ,’ उनले भने।
नेपालले उत्पादन गर्ने उक्त परिमाणको विद्युत्मध्ये १५ हजार मेगावाट भारत एवं बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र नेपाल तथा भारतबीच १० हजार मेगावाट विद्युत खरिद बिक्रीको दीर्घकालीन विद्युत व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाइ थियो।
नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत उत्पादन हुँदा २ हजार ३०० मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३०० मेगावाट निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको उनले जानकारी दिए।
कुल ३० हजार मेगावाटका विद्युत आयोजना विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडी टु गो’ आयोजनाको संख्यासमेत धेरै रहेकोले भारतीय लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे। इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई सहजीकरण र सहयोग गर्ने उनले बताए।
अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौताअन्तर्गत १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान भइरहेको स्मरण गराउँदै इप्पान अध्यक्ष कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारमा सहभागिताका लागि अघि बढेको धारणा व्यक्त गरे।
उनले भारतसँगको विद्युत आदानप्रदानका लागि नेपालमा ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको पनि बताए। अध्यक्ष कार्कीले आगामी वैशाख १२, १३ र १४ मा इप्पानले हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागेको जानकारी दिँदै यसमा सहभागी हुन भारतीय लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्तालगायतलाई आग्रह गरे।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे। ‘अहिले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण बनेको छ। लगानी सम्मेलनलाई लक्षित विभिन्न कानुनसमेत संशोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दै छ,’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ।’
समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए।
अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालको ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीका लागि इच्छुक रहेको जानकारी दिए।
लगानी बोर्डका सह–सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे। केयर रेटिङ लिमिटेडका वरिष्ठ निर्देशक सव्यासची मजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्त्वपूर्ण हुने बताए। समिटमा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १५० बढी प्रतिनिधि सहभागी छन्।