काठमाडौं। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार २ हजार बिन्दु छोएर फर्किएको छ। यो साता लागेदेखि नै निरन्तर घटिरहेको सूचक बुधबार पनि घटेको छ। बुधबार नेप्से ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा सीमित भएको छ।
कारोबारको अन्तिम समय भन्दा केही अघि नेप्सेले २ हजारको बिन्दु छोएको थियो। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से १.८५ अंकले घटेर २०१०.२१ को बिन्दुमा सीमित भएको थियो।
तर, बुधबार २ हजार बिन्दुलाई छोएर फर्किएकाले अब बजार कता जाला भन्ने अनुमान गर्न कठिन भएको छ। खासगरी अर्थमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालको एक महिनासम्म पनि सेयर बजार सुधारका विषयमा कुनै निर्णय नगरेपछि लगानीकर्ता निरास देखिँदै गएका छन्।
अर्थमन्त्रीको पदभार सम्हालेदेखि पुँजी बजारका विषयमा सकारात्मक धारणा राख्दै आएका अर्थमन्त्री पुनले व्यवहारमा भने सिन्को नभाँचेपछि लगानीकर्ता निरास भएका हुन्। त्यसैको असर दिनहुँ बजारमा धेरथोर गिरावट आइरहेको छ।
अर्थमन्त्रीले सेयर बजारका लागि नयाँ कदम चाल्ने आसमा बसेका लगानीकर्ता निरास बन्दा सूचक घटेको छ नै, कारोबार रकममा पनि व्यापक गिरावट आइरहेको छ।
नेप्सेमा बुधबार कुल २ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रौ कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्सेमा कुल २ अर्ब १९ करोडको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३२ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर छ। बुधबार लघुवित्त र जीवन बिमा कम्पनीले बजार थेग्ने प्रयास गरे पनि सफल हुन सकेन।
आज लघुवित्त उपसमूह १.६५ प्रतिशतले बढ्दा जीवन बिमा उपसमूह ०.५० प्रतिशतले बढेको छ। अन्य अधिकांश उपसमूहका सूचक राताम्य देखिएका छन्।
बुधबार गुराँस लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.३९ प्रतिशतले बढ्दा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ। ३५ प्रतिशतल लाभांश वितरणको घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमसेत ६.७४ प्रतिशतले बढेको छ।
बुधबार बढी कारोबार हुने कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। सूर्यज्योति लाइफको कुल २५ करोड ८० लाख रुपैयाँ बढीको कारोबार हुँदा सर्वोत्तम सिमेन्टमा १२ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। बुधबार रिभर फल्स पावरको सेयर मूल्यमा सर्वाधिक अर्थात् ४.४० प्रतिशतको गिरावट आएको छ।