काठमाडौं। सेयर धितो कर्जा र मार्जिन लेन्डिङ दुई अलग विषय हुन्। तथापि, नेपालमा मार्जिन लेन्डिङ कारोबार नहुने भएकाले सेयर धितो कर्जा र मार्जिन लेन्डिङलाई एकै रुपमा बुझ्ने र परिभाषित गर्ने गरिन्छ। अझ भनौं, मार्जिन लेन्डिङ लागू नभएकाले सेयर धितो कर्जालाई नै मार्जिन लेन्डिङको रुपमा बुझेको पाइन्छ। साधारणतया सेयरमा लगानी गर्नका लागि बैंकबाट लिने कर्जा सेयर धितो कर्जा हो भने सोही प्रयोजनका लागि स्टक ब्रोकर कम्पनीबाट लिने कर्जा मार्जिन लेन्डिङ हो। यद्यपि, यी दुईबीच आधारभूत र व्यावहारिक रुपमै थुप्रै भिन्नता छ।
नेपालको कानुनी व्यवस्था बमोजिम बैंकले कुनै पनि व्यक्तिलाई सेयर कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्छ, उक्त कर्जा नै सेयर धितो कर्जा हो। बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ। बैंकले धितोमा राख्ने सेयरको मूल्यांकन (भ्यालुएसन) गरेर त्यसको जोखिम मूल्यांकन गरी कर्जा उपलब्ध गराउँछ। लगानीकर्ताले आफ्नो पुँजी लगानी नगरी बैंकबाट लिएको कर्जाबाट नै सेयर कारोबार गर्ने काम यसमा हुन्छ।
‘कर्जा लिएर खरिद गरेको कम्पनीको सेयर मूल्य बढ्यो भने भोलीका दिनमा त्यसको फाइदा उक्त लगानीकर्तालाई हुन्छ। तर, मूल्य घटेको खण्डमा भने सेयर बिक्री गरेर तथा आफ्नो पैसा हालेर भए पनि कर्जा तिर्नुपर्ने हुन्छ,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट भन्छन, ‘यस्तो कर्जा कुनै पनि बैंकले नियामक निकाय अर्थात् राष्ट्र बैंकको व्यवस्था र तोकिएको सीमामा रहेर प्रदान गर्छन्।’ हाल केन्द्रीय बैंकले यस्तो सेयर धितो कर्जा लिन पाउने सीमा व्यक्तिगततर्फ १५ करोड रुपैयाँसम्म र संस्थागतर्फ २० करोड रुपैयाँसम्म राखेको छ। यसअघि भने व्यक्तिगततर्फ ८ करोड र संस्थागततर्फ १२ करोड रुपैयाँसम्मको सीमा थियो।
मार्जिन लेन्डिङ भने ब्रोकर कम्पनीहरूमार्फत् लिइने कर्जा हो। यसमा ब्रोकरको कर्जा मात्रै नभएर लगानीकर्ताले पनि केही हिस्सा पुँजी लगाउनुपर्ने हुन्छ।
त्यस्तै, मार्जिन लेन्डिङ भने ब्रोकर कम्पनीहरूमार्फत् लिइने कर्जा हो। यसमा ब्रोकरको कर्जा मात्रै नभएर लगानीकर्ताले पनि केही हिस्सा पुँजी लगाउनुपर्ने हुन्छ। जस्तैः तपाईंले कुनै एक कम्पनीको एक लाख रुपैयाँको सेयर खरिद गर्न लाग्नु भएको छ भने त्यो पूरा एक लाख रुपैयाँ कर्जाको रुपमा तपाईंले पाउनु हुन्न। अर्थात्, सेयर धितो कर्जाजस्तो एक लाख रुपैयाँ कर्जा लिएर आफ्नो पुँजी नलगाई सोही एक लाखको सेयर खरिद गर्न तपाईंले यसमा पाउनु हुन्न। एक लाखको निश्चित प्रतिशत पुँजी तपाईंले पनि लगाउनुपर्ने हुन्छ, जसलाई इनिसियल मार्जिन भनिन्छ।
यदि, एक लाख रुपैयाँको सेयर खरिद गर्दा त्यसको ६० प्रतिशत इनिसियल मार्जिन तोकिएको छ भने सो अनुसारको ६० हजार रुपैयाँ लगानीकर्ता तथा कर्जा लिने व्यक्तिले हाल्नुपर्छ। यसपछि ४० हजार रुपैयाँ भने ब्रोकरले कर्जाको रुपमा प्रवाह गर्दछ। यसका अलावा मार्जिन लेन्डिङमा खरिद गरिएको सेयर व्यक्तिको नाममा मात्रै हुँदैन। यो ब्रोकरको नाममा हुन्छ। मार्जिन लेन्डिङमा ब्रोकरले कर्जा प्रवाह गरेबापत् निश्चित प्रतिशत ब्याज पनि लिन सक्छ। ब्रोकरले बैंकबाट कर्जा ल्याएर लगानीकर्तालाई प्रवाह गर्ने भएकाले बैंकबाट ल्याएको दरभन्दा केही बढी ब्याज ब्रोकरले लिने गर्छन्।
मार्जिन लेन्डिङमार्फत् खरिद गरिएको सेयरको दैनिक मार्क–टू मार्केट गर्नुपर्ने हुन्छ। ब्रोकरले इक्विटी कति छ? बढिरहेको छ वा घटिरहेको छ? लगायत कुरा मूल्यांकन गर्छ। जस्तै, तपाईंको ६० हजार रुपैयाँ इक्विटी छ भने त्यो बढेको वा घटेको कुन अवस्थामा छ भन्ने कुरा ब्रोकरले निरन्तर हेर्दछ। ब्रोकरले आफ्नो हरेक ग्राहकको खातामा कति रकम बाँकी छ? कति प्रतिशतमा झर्यो वा बढ्यो? भनेर हेर्दछ। यदि सेयर मूल्य बढेर गयो भने उक्त सेयर बिक्रीबाट लिएको कर्जा तिर्ने काम हुन्छ। तर, खरिद गरिएको कम्पनीको सेयर मूल्य घटेर मार्जिन कम भयो भने ब्रोकर अप्ठ्यारोमा पर्न सक्छ। यसैले, ब्रोकरले अर्को मेन्टेनान्स मार्जिन भन्ने सीमा पनि तोकेको हुन्छ। यसमा लगानीको तल्लो तहको मार्जिन राखेअनुसार सो बिन्दुसम्म सेयर मूल्य घटेमा मार्जिन कल गरिन्छ।
लगानीकर्तालाई ब्रोकरले पैसा घट्दै गएको र सेयर बेचेर पनि कर्जा तिर्न नसक्ने अवस्था हुन सक्ने बताउँदै सेयर बिक्री गर्न वा पुँजी थप्न जानकारी समेत दिने गर्छन्। वास्तवमा, यही नै मार्जिन कल हो। ‘ब्रोकरले बैंकबाट कर्जा लिन्छन् र लगानीकर्तामा प्रवाह गर्छन्। मार्जिन लेन्डिङबाट खरिद गरिएको सेयर लगानीकर्ताको नाममा भए पनि उसले पैसा भने कर्जा तिरेपछि मात्रै पाउँछ,’ भट्ट भन्छन्, ‘यो समग्र संरचना तथा प्रक्रियालाई नै मार्जिन लेन्डिङ भनिन्छ।’
सेयर खरिद गर्न बैंकबाट लिएको कर्जामा अर्थात् सेयर धितो कर्जामा भने इक्वीटी राखिएको हुँदैन। उनीहरूले ऋण लिएर सेयरमा लगानी गरेका हुन्छन्। तर, मार्जिन लेन्डिङमा भने इक्वीटी राखिएको हुन्छ।
सेयर खरिद गर्न बैंकबाट लिएको कर्जामा अर्थात् सेयर धितो कर्जामा भने इक्वीटी राखिएको हुँदैन। उनीहरूले ऋण लिएर सेयरमा लगानी गरेका हुन्छन्। तर, मार्जिन लेन्डिङमा भने इक्वीटी राखिएको हुन्छ। यस्तै, मार्जिन लेन्डिङ धितोपत्र बोर्डबाट निर्देशित हुन्छ भने सेयर धितो कर्जा राष्ट्र बैंकबाट निर्देशित हुन्छ। नेपालमा हाल मार्जिन लेन्डिङ लिने व्यवस्था लागू छैन। बैंकको कर्जाबाट नै लगानीकर्ताले सेयरमा लगानी गरिरहेका छन्। त्यसैले पनि मार्जिन लेन्डिङलाई नै सेयर धितो कर्जाको रुपमा लिइएको पाइन्छ।
स्टक ब्रोकर एसोसिएनस अफ नेपाल उपाध्यक्ष सरिता अधिकारी मार्जिन लेन्डिङ र सेयर धितो कर्जा दुई अलग विषय भए पनि नेपालमा दुवै कर्जालाई एकै रुपमा बुझिने गरेको बताउँछिन्। ‘हाम्रोमा मार्जिन लेन्डिङको अवधारणा नभएकाले सेयर धितो कर्जा र मार्जिन लेन्डिङ दुवैलाई एउटै कर्जाको रुपमा बुझिएको पाइन्छ,’ अधिकारी भन्छिन्, ‘मार्जिन लेन्डिङ भनेको ब्रोकरहरूले दिने कर्जा हो भने सेयर धितो कर्जा भनेको बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जा हो।’
अधिकारीका अनुसार सेयर धितो कर्जा कम्तीमा एक वर्ष अवधिको हुन्छ भने मार्जिन लेन्डिङ ३ महिना अवधिको हुन्छ। यस हिसाबमा मार्जिन लेन्डिङ छोटो समयका लागि लिने कर्जा हो, यसका लागि पहिला नै ब्रोकरसँग सम्झौता भएर निश्चित लिमिटेसनमा रहेर कारोबार गरिन्छ। ब्रोकरहरूले आफ्नो तथा बैंकबाट ऋण लिएर लगानीकर्तामा सेयर कारोबारका लागि धितो कर्जा प्रवाह गर्ने कार्य मार्जिन लेन्डिङमा हुने गर्दछ। बैंक तथा वित्तीय संस्थामा घर तथा जग्गा धितो राखेर कर्जा लिएजस्तै आफ्नो नाममा भएको सेयर धितो राखेर कर्जा लिने कार्य सेयर धितो कर्जा हो।
स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट सेयर धितो कर्जामा लगानीकर्ता अर्थात् ग्राहक प्रत्यक्षरुपमा बैंकसँग जोडिने र मार्जिन लेन्डिङमा फरक हुने बताउछन्। ‘सेयर धितो कर्जा भनेको ग्राहकले बैंक तथा वित्तीय संस्थामा गएर आफ्नो सेयर पेडमा राखेर लिने ऋण हो। यसमा बैंक तथा वित्तीय संस्थाले प्रत्यक्षरुपमा लगानीकर्तालाई कर्जा दिन्छन्,’ रानाभाट भन्छन्, ‘तर, मार्जिन लेन्डिङमा भने बैंक तथा फाइनान्सले ब्रोकरलाई कर्जा दिन्छन्। यसपछि ब्रोकरले लिएको कर्जा उसले लगानीकर्तालाई दिन्छ।’ अर्थात् मार्जिन लेन्डिङमा लगानीकर्ताले आफ्नो स्वामित्वको सेयर बैंकमा लगेर पेडमा राख्नुपर्दैन।
सेयर धितो कर्जा
सेयर धितो कर्जा लगानीकर्ताले सेयर धितोमा राखेर बैंकबाट लिने कर्जा हो।
सेयर धितो कर्जामा लगानीकर्ता र बैंक प्रत्यक्षरुपमा जोडिन्छन्।
सेयर धितो कर्जामा कर्जा लिएको पूर्ण रकमले सेयर किन्न सकिन्छ। लगानीकर्ताले आफ्नो पुँजी लगाउनु पर्दैन।
सेयर धितो कर्जा राष्ट्र बैंकको व्यवस्था र निर्देशनबाट चल्छ।
सेयर धितो कर्जा बैंकको ब्याजदरअनुसार पाइन्छ।
मार्जिन लेन्डिङ
मार्जिन लेन्डिङ भनेको लगानीकर्ताले ब्रोकरबाट लिने कर्जा हो।
मार्जिन लेन्डिङमा लगानीकर्ता र ब्रोकर प्रत्यक्ष जोडिन्छन्। बैंकले मिडिएटरको काम गर्छ।
मार्जिन लेन्डिङमा इक्विटी तोकिएको हुन्छ। अर्थात् निश्चित प्रतिशत रकम लगानीकर्ताले हाल्नुपर्दछ।
मार्जिन लेन्डिङ धितोपत्र बोर्डको व्यवस्था र निर्देशनबाट चल्छ।
मार्जिन लेन्डिङमा ब्रोकरले बैंकबाट ऋण लिएर लगानीकर्तामा कर्जा दिने बैंकको भन्दा केही महँगो ब्याजदर पर्नसक्छ।
मार्जिन लेन्डिङमा मार्जिन कलको व्यवस्था हुन्छ।
मार्जिन लेन्डिङमा मार्ट टू मार्केटको व्यवस्था हुन्छ।