काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य पदाधिकारी सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए संसद् चल्न नदिइने चेतावनी दिएको छ।
बुधबारको संसद् बैठकमा सांसद एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माले चैत २७ सम्म उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद् बैठक चल्न नदिइने बताएका हुन्।
प्रतिनिधिसभा बैठकमा सुरुमै समय लिएर सांसद शर्माले कांग्रेसले उठाउँदै आएको माग सम्बोधन गर्न सत्तारुढ दल र सरकार जिम्मेवार हुनुपर्ने अन्यथा संसद् चल्न नदिइने चेतावनी दिए।
‘सरकारले अर्को बैठकमा आउँदा संसदीय छानबिन समिति लिएर आओस्। हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं। रास्वपाको कोर टिम सहकारी घोटालामा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन गर्नैपर्छ। अन्यथा संसद् चल्दैन,’ उनले भने।
कांग्रेसले सहकारी रकम हिनामिनामा गृहमन्त्रीको नाम जोडिएकाले छानबिनका लागि संसदीय समिति गठन माग गर्दै आएको छ।
विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा पुष्पकमल दाहालले लामिछाने निर्दोष भनेकाले शंका उब्जाएको शर्माको भनाइ थियो।
पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भने पनि नयाँ समीकरण बनेपछि अनुसन्धान रोकिएको उनले बताए। अनुसन्धान रोकेर लामिछानेलाई सहकारी ठगीमा चोख्याउने नियत देखिएको उनले दाबी गरे।
रास्वपाका सहमहामन्त्री विपिन आचार्य, उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल, सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत सहकारी ठगीमा नाम रहेकाले गृहमन्त्रीमाथि छानबिन गरिए सबै कुरा बाहिर आउने सांसद शर्माले बताए।
उनले कांग्रेसको सहमतिबेगर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे। सहमतिबेगर गरिए कांग्रेस कठोर हुने चेतावनी उनले दिए।
‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पनि प्रस्तुति रोस्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा पूर्वसूचना आजको हाउसमा सबैभन्दा पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने।
गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणबारे कांग्रेससँग खुला बहस गर्न तयार रहेको बताइरहेका बेला सांसद शर्माले संसदीय समितिमा उपस्थित भएर जवाफ दिने भए त्यसमा आफूहरु तयार रहेको बताए।
गृहमन्त्रीमाथि सहकारीको ८० करोड हिनामिना आरोप लागेकाले संसदीय छानबिन समितिमा कांग्रेसले लामिछानेको जवाफ सुन्न चाहेको उनले जानकारी दिए। उनले भने, ‘म सार्वजनिक रूपमा बहस गर्न तयार छु। कहाँ आउनुपर्ने हो भन्नुस्, त्यहाँ आउँछौं। बहस गर्ने ठाउँ सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समिति कार्यालयमा आउनुस्, कांग्रेससँग खुला बहस गरौं।