भुक्तपुर। विश्वविद्यालय अनुदान आयोग र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता विकासका लागि काम गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुई पक्षबीच मंगलबार विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा हस्ताक्षर भएको हो। यसबाट एक रणनीतिक साझेदारी प्रवर्द्धन कार्य सुरु हुने सम्झौतामा उल्लेख छ। विश्वविद्यालय अनुदान आयोग (युजीसी) का सचिव प्रा. शंकरप्रसाद भण्डारी र आइडिया स्टुडियो नेपाल (आईएसएन) का कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले यूजीसीका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरे। हस्ताक्षरका क्रममा देवराज अधिकारीले आइडिया स्टुडियो नेपालसँगको हाम्रो सहकार्यबाट खुसी भएको बताए। ‘विश्वविद्यालय अनुदान आयोगले मात्र काम गर्न कठिन हुन्छ। त्यसैले आइडिया स्टुडियोको विज्ञतासँग सहकार्य गर्दा हामी विद्यार्थीहरूलाई सक्षम बनाउने काममा सफल हुन्छौं,’ अधिकारीले भने, ‘आगामी दिनमा यसले उद्यमीहरू पनि सिर्जना गर्न सक्छ र उद्यमशील मानसिकताको विकास पनि गर्नेछ।’
यस्तै, प्रा.डा. लालप्रसाद अमगाईले विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूबीच उद्यमशीलता विकासका लागि काम गरिरहेको र यस सहकार्यबाट थप मद्दत पुग्ने बताए। ‘हामीले आइडिया स्टुडियो नेपालबाट निरन्तर सुपरिवेक्षण, मेन्टरिङ र नेटवर्किङका साथै कार्यमूलक गतिविधिहरू सम्पन्न गर्नेछौं,’ उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग र आइडिया स्टुडियो नेपाल एकअर्काको नेटवर्कमा विशेषज्ञता आदानप्रदान गर्ने अर्को महत्त्वपूर्ण माइलस्टोनको रुपमा यसलाई लिएका छौं।’
सोही क्रममा डा. छिरिङले यो सम्झौता एक महत्त्वपूर्ण कोसेढुंगा भएको बताए। ‘हामी नेपालको उच्च शिक्षा संस्थामा उद्यमी र उद्यमशील इकोसिस्टम प्रवर्द्धन गर्ने काम गर्न तयार छौं,’ छिरिङले भने, हाम्रो फोकस र दृष्टिकोण सधैं उच्च शिक्षा संस्थाहरूलाई नेपालका आकांक्षी उद्यमीहरूलाई सक्षम पारेर समाज सन्दर्भ आवश्यकतालाई सम्बोधन गर्न व्यवसाय इन्क्युबेशन सेन्टरहरू स्थापना गर्न सक्षम बनाउनतर्फ रहेको छ।’
दुई पक्षबीच उद्यमशीलताको लागि पाठ्यक्रम विकास गर्ने, नेपालमा उच्च शिक्षा संस्थाहरू बीच इन्क्युबेशन सेन्टरहरू स्थापना गर्ने र सामुदायिक संलग्नता पहलहरू बढाउने उद्देश्यका साथ सम्झौता भएको हो। यसले शैक्षिक अनुसन्धान वातावरणलाई प्रवर्द्धन र सक्षम बनाउन, विश्वविद्यालयको उद्यमशील इकोसिस्टमलाई समृद्ध बनाउन अतिथि व्याख्यानको लागि राष्ट्रिय र विश्वव्यापी विशेषज्ञहरूको नेटवर्क स्थापना गर्न र शिक्षक तथा विद्यार्थीबीच कार्य अनुसन्धान गर्ने सम्झौता भएको छ।