काठमाडौं। महिला उद्यमी संघ तनहुँमा आबद्ध महिलाहरुले मकैको खोस्टाबाट आकर्षक ह्याड अर्थात् टोपी बनाएका छन्। उनीहरुले सामूहिक रुपमा आफ्नो सीप तथा कलालाई प्रयोग गर्दै फुर्सदको समयमा यस्ता सामग्री बनाउने र बजारसम्म पुर्याउने गरेका छन्। यसबाट महिलाहरुले मासिक रुपमा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको महिला उद्यमी संघ तनहुँकी अध्यक्ष्य निर्मला मल्ल बताउँछिन्।
उनकाअनुसार बजारमा उत्पादित सामग्रीलाई संघले नै बजारीकरण गर्ने उत्पादनका लागि थप प्रोत्साहन गर्ने काम गर्दै आएको छ। यसले महिलाले घरको आफ्नो दैनिकी कामसँग जोडेर आर्थिक उपार्जनको काममा समेत सहभागी हुने अवसर मिलेको छ। संघमा आबद्ध भएर काम गर्दा महिलाहरुले एक आपसमा आफ्ना सीप तथा कलालाई साटासाट गर्दै आर्थिक पाटो बलियो बनाउन लागिपरेका छन्।
अहिले ग्रामीण भेगमा रहेका महिलाहरु यस्तै किसिमको संघ तथा संस्थामा आबद्ध भएर होस् वा स्वतःस्फूर्तरुपमा मिलेर होस् यस्ता काममा लागि परेको पाइन्छ।
यसो त, यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो। अहिले ग्रामीण भेगमा रहेका महिलाहरु यस्तै किसिमको संघ तथा संस्थामा आबद्ध भएर होस् वा स्वतःस्फूर्तरुपमा मिलेर होस् यस्ता काममा लागि परेको पाइन्छ। समूहमा काम गर्नु, एक अर्कोका सीप साटासाट गर्नु, घरेलु सामग्रीको प्रयोग गरी आम्दानीको बाटो आफैंले खोज्नु निकै सकारात्मक विषय हो। झन् मुलुकमै उत्पादित यस्ता सामग्रीले बजारमा आयातित सामग्रीलाई प्रतिस्थापन गराउन सके पक्कै राम्रो हुने थियो।
हुन त व्यवसाय बढ्दै गएमा त्यो दिन पनि नआउला भन्न सकिन्न। किनभने महिलाहरुमा उद्यमप्रतिको चासो बढ्दो छ। तनहुँको महिलाजस्तै मुस्ताङको घरपोझङ गाउँपालिकाको महिला उद्यमी संघ नेपालमा आबद्ध महिलाहरुले पनि यस्तै उदाहरणीय काम गरिरहेका छन्। स्याउबाट विभिन्न सामग्री बनाउने काममा सक्रिय उनीहरुले स्याउबाट सुकुटी, केन्डी, जाम, आलु चिप्स, बनाइरहेका छन्।
स्याउ बिक्री नभएर कुहिएर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न उनीहरुले यस्ता वस्तु उत्पादन गर्ने र बजारमा पुर्याउने काम गर्दै आएका हुन्। यसका साथै, उक्त महिला समूहले खुर्पानीको सुकुटी र जाम, सिस्नोको धुलो, रायो सागको गुन्दु्रक, अदुवाको क्यान्डी टिमुरको छोपजस्ता अन्य परिकार पनि बनाउँदै आएका छन्। यस्ता सामग्रीको बिक्री वितरणबाट महिलाहरु आर्थिक रुपमा समेत सबल भएका छन्।
त्यस्तै, डोटीको दिपायल नगरपालिका वडा नम्बर ३ का ४० जना महिलाले यस्तै किसिमको सामुहिक उद्यम थालनी गरेका छन्। एउटा ठूलो समूह नै बनाएर उनीहरुले ग्रामीण कृषि उत्पादन तथा सामग्रीको प्रयोग गरेर विभिन्न सामग्री बनाउने र ती सामग्रीलाई बजारसम्म पुर्याउने काममा सक्रिय छन्। विशेषगरी उक्त महिला समूहले घीउ, मह, तोरीको तेल, कोदोको पिठोलगायत विभिन्न खाद्यान समाग्री तयार गरेर बजारसम्म पुर्याउने गरेका छन्।
विशेषगरी कृषि व्यवसायलाई प्रोत्साहन पुग्ने ढंगमा उनीहरुले यस्तो कार्य गरेका हुन्। घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तिका साथै आम्दानीको अवसर सिर्जना गर्नका लागि आफूहरु यस्तो सामुहिक खेतीमा अग्रसर भएको महिला उद्यमी संघ डोटीको अध्यक्ष जानकी भट्ट बताउँछिन्। ‘व्यावसायिक कृषि थालेपछि पहिलेजस्तो कसैसँग हात पसार्नु परेको छैन। पैसा चाहिएको बेला एक केजी घिउ बेचेर पनि काम चलाउन सक्ने अवस्था अहिले बनेको छ।’
गाउँमै खाद्यान सामग्री उत्पादन गरेर बजारबाट आयातित सामग्री घटाउने उनको भनाइ छ। अध्यक्ष भट्टका अनुसार उक्त उत्पादित सामग्रीको बिक्रीबाट हाल वार्षिक रुपमा साढे २ लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेका छन्। उनका अनुसार उत्पादित घिउ, कोदोको पिठो, मह तोरीको तेलजस्ता खाद्यान्नका सामग्री नेपालभर बिक्री हुने गरेको छ। अब एउटा स्टोर नै सञ्चालन गर्ने तयारीमा उनीहरु छन्।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ३ मा पनि यस्तै किसिमको उद्यम छ। रोशी ह्याण्डीक्राफ्ट नाम दिएर सञ्चालित महिला उद्यमले ३० जना मानिसलाई रोजगारी दिदै आएको उद्यमी सलिना लामा बताउँछिन्। रोशी ह्याण्डीक्राफ्टले ब्याग, पर्स, किरिङ, मुडा, पेन्सिल पर्सलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आइरहेको छ। हेम, ढाकाजस्ता कच्चा पदार्थबाट बनेका पर्स, ब्याग, र मकैको खोस्टाबाट बुनिएका मुडाजस्ता सामग्री पनि उत्पादन हुने गरेको छ।
यस्तै, अन्जली चौधरीले पनि उपहार हस्तकला नामक उद्यममार्फत वनमा पाइने थाकल नामक घाँसबाट विभिन्न सामग्री बनाएर व्यवसाय गर्दै आएकी छिन्। उनले जंगलमा पाइने उक्त घाँसबाट धेरै डिजाइनको ब्याग, मकैको खोस्टाको फूल, चकटी, उपहार सामग्रीजस्ता कुरा बनाउँदै आएकी छिन्। ‘उपहार व्यवसाय सुरु गरेपछि मैले अन्य व्यक्तिसँग पैसा माग्नु परेको छैन,’ उपहार हस्तकलाकि सञ्चालक चौधरी भन्छिन्, ‘अहिले, म आफै आत्मनिर्भर बनेको छु।’
उनका अनुसार थाकल नामक घाँसबाट बनाएको डिजाइन–डिजाइनको ब्यागको साथमा खोस्टाबाट बनाएको चकटी, फूल आदिबाट मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। उनीसँग ५ जना अन्य महिलाले काम गरिरहेका छन्।