काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन्।मंगलबार सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटमा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
भेटमा अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यबाट गुनासो आइरहेको जानकारी गराएका थिए।
सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए। ढकालले निजी क्षेत्रले व्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्नेतर्फ सचेत गराए।
अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे। उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए।
लगानी सम्मेलन चाँडै हुन गइरहेकाले अर्थमन्त्री पुनसँग स्वदेशी लगानीकर्तालाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीको मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरे।
अर्थमन्त्री पुनले महासंघ अध्यक्ष ढकालबाट व्यक्त विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए। उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार तत्पर रहेको बताए। मन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन पनि दिए।
उनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको औंल्याए। मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार्नु रहेको जानकारी दिए।