८९ वर्षअघि जापानी नागरिक इकाई कावागोची तिब्बत जाने क्रममा पोखरा पुगेका थिए। उनै इकाई कावागोचीलाई पोखराको पहिलो विदेशी पर्यटक मानिँदै आएको छ। ती व्यक्तिलाई पोखराको पहिलो विदेशी पर्यटकको रुपमा मानिए पनि पोखरालाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्ने व्यक्तिको रुपमा भने माउरिस हर्जोगलाई लिने गरिएको छ। हर्जोग अन्नपूर्ण हिमाल आरोहणका क्रममा पोखरा पुगेका थिए।
अहिले नेपाल आउने ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा पुगेकै हुन्छन्। अन्नपूर्ण हिमाल आरोहणका लागि धेरै विदेशी आउने गरेका छन्, जसको संगम स्थल पोखरा नै हुने गरेको छ। त्यसबाहेक माच्छापुच्छ«े हिमाल र फेवाताल नियाल्न बर्सेनि विदेशी एवं स्वदेशी गरी लाखौं पर्यटक पोखरा पुगिरहेका हुन्छन्।
उसो त पोखरामा सडक पुगेको पनि ५३ वर्ष भइसकेको छ। विसं २०२७ मा सिद्धार्थ राजमार्ग बनेको थियो, जुन सडकको अवस्था अहिले पनि उस्तै छ। विकासको नक्सा नकोरिँदै पोखरामा पहिलो पटक २००६ मा जहाज अवतरण भएको थियो। विकास परिसूचकको सूत्रधार यसैलाई मानियो। पोखरा विमानस्थललाई स्तरोन्नति गरी अहिले अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष भइसक्दासमेत आन्तरिक उडानमै सीमित छ। हालसम्म पोखराबाट चीनको सिचुआन, भुटानको ड्रुक एयर र हिमालय एयरलाइन्सले चार्टर्ड उडान मात्रै गरेका छन्।
२०२१ मा पोखरा औद्योगिक क्षेत्र घोषणा भएको थियो। २०३३ मा औद्योगिक क्षेत्रभित्र ६ वटा भवन थिए– ‘ए’ मा तीन र ‘बी’मा तीन। भवन बनेपछि औद्योगिक क्षेत्रभित्र उद्योग सुरु हुन थाले र विस्तारै उत्पादनमूलक उद्योग थपिए। गण्डकी नुडल्सले २०३३ असोजमा त्यहीँबाट उत्पादन सुरु ग¥यो। पोखरालाई व्यवस्थित बनाउन २० दशकमै योजना बनेको थियो। भूदेव राईले २०२२ मा अञ्चालाधीश हुँदा महेन्द्रपुलदेखि एयरपोर्टसम्मको सीधा बाटो खोलेको पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखे बताउँछन्।
काठमाडौंबाट पोखरा जोड्ने सडक विस्तार गरेको वर्षौं भइसकेको छ। तर, अहिलेसम्म पूरा हुन सकेको छैन। सोही कारण काठमाडौंबाट पोखरा पुग्नलाई १२ घन्टासम्म लाग्ने गरेको छ। घन्टौंसम्म जाम हुने भएकाले पनि सडकमार्फत यात्रा गर्न धेरैले रुचाउँदैनन्। जहाजमार्फत यात्रा गर्ने यात्रु संख्या सीमित रहेको र सीधा अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला त्यहाँको व्यापार व्यवसायमा पनि मन्दी आइरहेको व्यवसायीको गुनासो छ।
पर्यटकीय राजधानी घोषणा
हुन त, यसअघि नै पोखरालाई लामो समयदेखि अघोषित रुपमा पर्यटकीय राजधानीको रुपमा प्रचार गरिसकिएको थियो। अहिले गण्डकी प्रदेश र पोखरा महानगरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साक्षी राखेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सफल भएका छन्। पर्यटकीय राजधानी घोषणा हुनु आफैंमा सकारात्मक पक्ष हो। तर, राजधानी घोषणा हुनुअघि र भएपछिको भिन्नता के–के भयो र के–के हुन्छ भन्ने विषयमा कुनै पनि निकाय जवाफदेही नभएको विश्लेषण हुन थालेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी राजधानी घोषणा हुनु सुखद पक्ष भए पनि राज्यको तर्फबाट पोखरेलीलाई दिने सुविधा के भन्ने विषय नै नटुंगिएको बताउँछन्। ‘पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने प्रदेश सरकार, स्थानीय सरकार तथा व्यवसायीको चाहना पूरा भएको छ’, पूर्वअध्यक्ष मुल्मीले भने, ‘पोखरालाई अन्य ठाउँभन्दा पृथक र सुरक्षित बनाउन सके मात्र राजधानी घोषणाको औचित्य पुष्टि हुन्छ। त्यसको योजना खै?‘
विद्यमान पूर्वधारसमेत पूर्ण रुपमा सञ्चालनमा आउन नसकिरहेको बेला हतारोमा राजधानी घोषणा गरेर पहिलो बन्ने होड मात्र पूरा गरेको उनको टिप्पणी छ। हुन पनि राजधानी घोषणा भएपछि पोखरामा के–के परिवर्तन हुन्छ र त्यहाँ आउने पर्यटकले यसअघि नपाएका थप सुविधा के पाउँछन् भन्ने विषयमा प्रदेश र स्थानीय सरकार दुवै मौन छन्।
प्रधानमन्त्री प्रचण्डले राजधानी घोषणा गरेसँगै पोखराका व्यवसायीलाई राज्यले दिने छुट र राज्यले दिएको छुटलाई सदुपयोग गरी उनीहरुले ग्राहकलाई उपलब्ध गराउने सुविधाबारे स्पष्ट पार्ने अपेक्षा पोखरेलीको हुँदाहुँदै पनि पूरा नभएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेल बताउँछन्।
’राजधानी घोषणाले सकरात्मक सन्देश गएको छ,‘ सचिव भुजेलले भने, ‘तर, घोषणापछि पाउने थप सेवा–सुविधा राज्यले के के दिन्छ भन्ने कुरा पनि टुंगिनुपर्ने थियो। त्यो नहुँदा दुःख लागेको छ।’
पोखरालाई राजधानी घोषणा भइरहँदा पोखरेलीले भने प्रधानमन्त्री दाहालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन मोडालिटीसमेत सार्वजनिक हुने अपेक्षा राखेका थिए। व्यवसायी पनि राज्यबाट विशेष छुट घोषणा हुने आशमा थिए। तर, ती अपेक्षा र आशाले पूर्णता पाउन सकेनन्।
२२ अर्ब रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा आइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने व्यवसायीको धारणा छ। घोषणा नहुनुमा भइसकेपछि आगामी दिनमा राम्रो नतिजा र पर्यटकलाई परिवर्तनको आभास दिलाउने खाले काममा जोड दिनुपर्ने बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेलको धारणा छ।
‘घोषणाका लागि तयार भइसकेको थिएन,’ अध्यक्ष पौडेलले भने, ‘अहिले भएको गतिविधिले पनि विश्वभर सकारात्मक सन्देश गएको छ। अब नयाँ स्वरुपमा पोखराको पर्यटन अगाडि बढाउन सबै क्षेत्र लाग्नुपर्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न गण्डकी प्रदेश एवं पोखरा महानगरले चाहेर पनि नसक्ने र संघीय सरकारले नै विशेष पहल गरेर हवाई रुटका विषय टुंगोमा पु¥याउन दबाब दिनतिर लाग्नुपर्ने अध्यक्ष पौडेलको बुझाइ छ। उद्योग वाणिज्य महासंघ पोखराका पूर्वअध्यक्ष अशोक पालिखे राजधानी घोषणाका लागि आवश्यक मापदण्ड नै नबनाएको बताउँछन।
‘पहिला पोखरा नगरपालिकाबाट उपमहानगर बन्यो र अहिले महानगर बनेको छ। तर, जनताले पाउने सेवा–सुविधामा कुनै फरक अनुभूति गर्न पाएका छैनन्,’ पालिखेले भने, ‘उल्टै करको भार थोपरिएको छ। अब पर्यटकीय राजधानी भएपछि पनि यही करको भार थोपरिने त हैन भन्ने आशंका धेरैको छ।’
पोखरालाई २४घन्टै खुलाउन मात्र राजधानी घोषणा गर्न आवश्यक नभएको आमबुझाइ छ। खासगरी लेकसाइड क्षेत्रका व्यवसायीले लामो समयदेखि २४सै घन्टा व्यवसाय खोल्न पाउनुपर्ने माग राख्दै आएका थिए। अहिले पर्यटन राजधानी घोषणापछि सरकारले महत्त्वपूर्ण उपलब्धिको रुपमा समेटेको छ। तर, पोखरा क्षेत्रका सडक पूर्वधारको स्थिति एवं फोहोरमैला व्यवस्थापन कसरी भएको छ भन्ने विषयमा पनि प्रदेश र स्थानीय सरकारले राम्रोसँग हेर्नुपर्ने पूर्वअध्यक्ष पालिखे बताउँछन्।
राजधानी घोषणा आफ्नो पालामा गरेर इतिहासमा नाम लेखाउन मुख्यमन्त्री सुरेन्द्र पाण्डे र मेयर धनराज आचार्यको भूमिका रहेको चर्चा चल्न थालेको छ। आवश्यक तयारी र छलफलबिनै प्रतिस्पर्धात्मक रुपमा पोखराले पर्यटकीय राजधानी घोषणा गरेको एक व्यवसायी बताउँछन्। ‘संघीय सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय नै गरेको छैन। तर, गण्डकीका मुख्यमन्त्री पाण्डे र मेयर आचार्यले आफ्नै पालामा घोषणा गरी इतिहासमा नाम लेखाउन चाहेका कारण बिनातयारी पुरानै प्रडक्टलाई टेकेर हतारोमा घोषणा गरेको देखियो’, ती व्यवसायी भन्छन्।
छैन नयाँ प्रडक्ट
आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ। राजधानी घोषणापछि अन्य ठाउँमा नभएका र पृथक केही न केही होला भन्ने धेरैको अपेक्षा हुनु सामान्य हो। कुनै ठाउँको मुख्य केन्द्र हुनु भनेको केही पृथक छ भन्ने हो। तर, पोखरामा अहिलेसम्म फेवाताल र माछापुच्छ«े हिमालबाहेक दोस्रो पटक जाने पर्यटकले हेर्नैका लागि कुनै नयाँ प्रडक्ट तयार भएको छैन। कंक्रिटले भरिएको पोखराको सहरले विस्तारै फेवाताल छेक्दै र माछापुच्छ«े हिमाललाई ढाक्दै छ। पोखरालाई झल्को दिने खाले पुराना बस्ती विस्तारै मासिँदै कंक्रिटमा परिणत भइरहेका बेला राजधानी घोषणा गरेर अभिलेखमा नाम राख्ने काम मात्र भएको संघका पूर्वअध्यक्ष पालिखेको दाबी छ।
पोखरा महानगरका मेयर आचार्यले पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिने बताए। पोखरा आउने पर्यटकलाई लक्षित गरी नयाँ पर्यटकीय प्रडक्ट विकास, पुराना प्रडक्टको ब्रान्डिङमा विशेष ध्यान दिइने उनले दाबी गरे।
‘सार्वजनिक/निजी साझेदारी (पिपिपी) मोडलमा बेगनास तालमा १६ वटा विभिन्न वाटर गेम सञ्चालन गर्न लागेका छौं’, मेयर आचार्यले भने, ‘अध्ययनसमेत भइसकेकाले अर्ब लगानीमा परियोजना छिट्टै सञ्चालन हुन्छ, जुन नयाँ प्रडक्ट हो।’
पोखराको पुरानो बजार रामकृष्ण टोलमा पुराना घर जस्ताको तस्तै संरक्षण गरेर सम्पदा क्षेत्रका रुपमा विकास गर्न लागेको बताउँदै संघीय, प्रदेश र महानगरसहित वडासँग समेत सहकार्य गरेर राजधानीलाई साच्चिकैको राजधानी रहेछ भन्ने दिलाउन लागिपर्ने प्रतिबद्धता गरे।
२४सै घन्टा खुला
राजधानी घोषणा भएसँगै पोखरा २४सै घन्टा खुला भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पोखरालाई २४सै घन्टा खुलाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको बताए। समितिले किराना, खाना, खाजा, पान पसललगायतलाई राती १ बजेसम्म र डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुलाउने निर्णय गरेको उनले जानकारी दिए।
यस्ता छन् चुनौती
पर्यटक राजधानी घोषणापछि पहिलो चुनौती भनेकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु रहेको छ। अर्बौं ऋणमा बनेको विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुनु दुःखद पक्ष भएकाले संघीय सरकारले सञ्चालनका लागि आवश्यक मोडालिटी बनाउन आवश्यक रहेको सरोकारवालाको सुझाव छ।
काठमाडौंबाट पोखरा पुग्ने सडकको स्तरोन्नतिको काम सुस्त हुँदा पर्यटक घन्टौंसम्म जाममा फस्ने गरेका छन्। सोही कारण उनीहरु पुनः दोहो¥याएर जान चाहँदैनन्। त्यसका लागि सडकको काम तत्कालै सम्पन्न गरेर सहज यात्रा वातावरण बनाउन आवश्यक छ।
बुटवल–पोखरा,काठमाडौं–मुग्लिन–पोखरा,चितवन–मुग्लिन–पोखरा, चीन छुने सीमानाका कोरला–पोखरा सडक छिटोभन्दा छिटो स्तरोन्नति गर्नुपर्ने देखिन्छ। गण्डकी प्रदेशमा रहेका प्रमुख पदयात्रा मार्गको स्तरोन्नति र मुस्ताङको मुक्तिनाथ सडक चार लेनमा स्तरोन्नति गर्नुपर्ने व्यवसायी प्रवीण राजभण्डारीको भनाइ छ।
कति छन् होटल
हालसम्म गण्डकी प्रदेशमा २ वटा पाँचतारे, ७ वटा चारतारे होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीन, दुई र एकतारे र गैरतारे गरी पोखरा र आसपासमा पर्यटक स्तरका १ हजार २ सय होटल तथा रिसोर्ट छन्। ती होटल तथा रिसोर्टमा ४० हजार बेड संख्या छ भने ३५० बढी होमस्टे र ३०० बढी रेस्टुरेन्ट सञ्चालनमा छन्। ७४ वटा प्याराग्लाइडिङ र ३ अल्ट्रालाइट कम्पनी छन्।
पोखराको पहिलो होटलका रुपमा १९६८ तिर ‘होटल लेकसाइड‘ खुलेको थियो भने काठमाडौंको पहिलो लगानीको रुपमा ‘होटल क्रिस्टल’ २०२१ मा खुलेको थियो।
प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रतिबद्धता
राजधानी घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ व्यवस्थापनमा सञ्चालन गरिने प्रतिबद्धता जनाए। तर, कहिलेबाट र कसरी चल्ने भन्ने स्पष्ट पारेनन्। तयारीसमेत थालिएको छैन। पोखरामा नियमित उडान र खर्चबारे नयाँ ढंगबाट व्यवस्थापन गर्ने संकल्प गरेको उनको भनाइ छ।
‘पर्यटकीय क्षेत्र गण्डकीको राजधानीसमेत रहेको पोखरा विविधताले भरिपूर्ण भएकाले देशको आर्थिक विकासमा अब नयाँ आयाम थपिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘पर्यटकीय राजधानी घोषणासँगै अब पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय स्थल बनाउन लागिपरौं।’ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका सूचीकृत पर्यटन विकास गर्दै प्रदेश सरकार र महानगरको सहकार्यमा केही नयाँ योजनासमेत सुरु गरिने बताए।
राउन्ड फेवा, भ्यू फेवा टे«किङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्ने कार्य अघि बढाउने, बेगनास तालमा क्रुजसिप सञ्चालन, पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण, बृहत् ध्यान केन्द्र निर्माण, पोखरा विमानस्थलदेखि पृथ्वी चोकसम्म सटल बस सेवा सञ्चालन गर्ने गरी प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य भई नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
मेयर धनराज आचार्यले अब पोखरा विधिवत् पर्यटकीय राजधानीको रुपमा परिचित भएको सुनाउँदै यस क्षेत्रको विकासले छलाङ मार्ने दाबी गरे।
राजधानीपछि हुने फाइदा
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन यस्तो छः
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको नीति, योजना र कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता प्राप्त गर्ने।
पोखराको पर्यटकीय ब्रान्डिङ गर्ने अभियानमा थप योगदान पुग्ने।
पोखराको पर्यटकीय बजारीकरण तथा प्रवद्र्धनमा टेवा पुग्ने।
गण्डकी प्रदेशका पोखरालगायत अन्य स्थानीय तहबीच पर्यटन विकास योजना र सेवा प्रवाहमा आपसी समन्वय र सहकार्य अभिवृद्धि हुने।
पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी र अन्य सरोकारवालाबीच थप उत्साह तथा ऊर्जा थपिने।
पोखरामा बाह्य तथा आन्तरिक लगानीमैत्री वातावरण सिर्जना हुने।
गण्डकी प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य थप मजबुत हुने।
पोखराको समुन्नतिका लागि सरकार, निजी क्षेत्र र अन्य विकास साझेदारसँग सहकार्यको अनुकूल वातावरण बन्ने।
गण्डकी प्रदेश र पोखरा महानगरको समग्र विकासका लागि प्राथमिकता दिन सरोकारवालालाई प्रोत्साहन मिल्ने।
निजी क्षेत्रको जवाफदेहिता तथा व्यावसायिक क्षमता वृद्धि हुने।
यी हुन् गण्डकीका मुख्य पर्यटकीय गन्तव्य
संसारमा समुद्र सतहदेखि १ हजार मिटरभन्दा कम उचाइबाट ८ हजार मिटरभन्दा अग्ला हिमाल देख्न सकिने एक मात्र ठाउँ पोखरा हो।
संसारको उत्कष्ट पाँच प्याराग्लाइडिङ क्षेत्रभित्र सराङकोट पर्छ।
संसारको सबैभन्दा गहिरो कालीगण्डकी गल्छी गण्डकी प्रदेशमै छ।
संसारको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल मनाङ गण्डकीमै पर्छ।
संसारको उत्कष्ट १० पदयात्रा मार्गमा पर्न सफल अन्नपूर्ण राउन्ड पदयात्रा।
संसारको दोस्रो अग्लो बन्जीजम्प कुश्मामा।
विश्वको सबैभन्दा धेरै सवा लाख शालिग्राम शिला संगृहीत शालिग्राम संग्रहालय बागलुङ।
(क्यापिटल बिजनेस म्यागजिन चैत अंकबाट)