काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा राती दैनिक १२ घन्टा लोडसेडिङ सुरु गरेको छ। दिनमा समेत १०/१२ पटक बिजुली अनियमित भइरहेका बेला सोमबार रातीबाट १२ घन्टा लोडसेडिङ सुरु गरेको हो।
प्राधिकरणले सोमबार फोनमार्फत उद्योगमा लोडसेडिङ हुने जानकारी गराएको नेपाल उद्योग वाणिज्य महासंघका उद्योग सभापति राजेश अग्रवालले बताए। ‘बेलुकी ६ देखि बिहान ६ बजेसम्म विद्युत आउने छैन। त्यहीअनुसार उद्योग सञ्चालन गर्नुहोला,’ प्राधिकरणको भनाइ उद्र्धत गर्दै अग्रवालले भने।
यसअघि लामो समयदेखि विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ हुँदै आएको छ। तर, प्राधिकरणले त्यसलाई बेवास्ता गर्दै आएको छ।
अर्घाखाँची सिमेन्ट र श्री स्टिलका प्रबन्ध निर्देशकसमेत रहेका सभापति अग्रवाल २४सै घन्टा सञ्चालन हुने उद्योगलाई १२ घन्टा मात्र उद्योग दिने प्राधिकरणको निर्णयले समस्या पर्ने बताउँछन्। ‘उसै त दिउँसो नियमित रुपमा विद्युत् नपाएर राती सिफ्ट गरेर काम गरिरहेका हुन्छौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने, ‘त्यही पनि प्राधिकरणको मौखिक जानकारीपछि उद्योग, व्यवसाय झनै समस्यामा पर्ने भए।’
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले अघोषित रुपमा दैनिक बिजुली झ्यापझ्याप हुँदा धेरै समस्या भइरहेको बताए। ‘अहिले औद्योगिक क्षेत्रमा राती बिजुली नदिने भनेर मौखिक जानकारी आएको छ,’ अध्यक्ष राउतले भने, ‘बरु घोषित रुपमै दिउँसो पनि बत्ती नआउने हो भने त्यहीअनुसारको योजना बनाउन सहज हुन्थ्यो।’
सोमबार केही प्राविधिक समस्या आएकाले विद्युत् कटौती गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए। ‘प्राविधिक समस्या आउँदा बिजुली काटिने भएकाले उद्योगमा मौखिक जानकारी गराएका हौं,’ प्रवक्ता घोषले भने, ‘त्यो लोडसेडिङ हैन।’ यद्यपि उनले विद्युत् अनियमित अहिले उद्योगमा मात्र नभई अन्य क्षेत्रमा पनि भएको बताए।
पछिल्लो समय धेरै हावाहुरी चल्ने भएकोले ठाउँ–ठाउँमा विद्युत् तारमा समस्या आउँदा बिजुली नियमित नभएको उनको दाबी छ।
उद्योगले नियमित बिजुली नपाएको विषयमा प्रश्न गर्दा उनले उत्तर दिन चाहेनन्। ‘हामी नियमित रुपमा विद्युत् दिन लागिपरेका छौं,’ प्रवक्ता घोषले भने।
यो बेला विकास निर्माणको काम हुने सिजन हो। सोही कारण बजारमा निर्माणजन्य वस्तुको माग बढेको छ। सिमेन्ट र रडसहितका निर्माणजन्य वस्तुको माग बढिरहेका बेला उद्योगमा अघोषित लोडसेडिङले काम गर्ने वातावरण नभएको उद्योगीको गुनासो छ।
झ्याप्पझ्याप्प बिजुली जाँदा उद्योगका मेसिन बिग्रिने सम्भावना धेरै हुने भएकाले त्रासमै उद्योग चलाउनुपर्ने बाध्यता रहेको उनीहरुको तर्क छ।