काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि सकारात्मक रहेको बताएका छन्। ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाउँदै उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता उनले जनाए।
उनले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे। मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे।
आर्थिक वर्ष २०७६/७७ को भ्याट नकाटे पनि सरकारले तिर्नुपर्ने देखाएपछि त्यसको मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष माधव नेपालले बताए।
चालू आर्थिक वर्षमा सरकारले १३ प्रतिशत भ्याटलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि भ्याटमा कारोबार नगरेकाले मिनाहाका लागि सरकारसमक्ष माग गरेको उनले जानकारी दिए।
ढुवानीमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासंघले त्यसको खारेजीको माग गरेको छ। सो करले समग्र व्यापार व्यवसाय तथा उपभोक्तामा महँगी सिर्जना गरेको महासंघको भनाइ छ।
महासंघले देशका ठूला शहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमुनाका रुपमा बुटवलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा ३० करोड लागतमा ढुवानी ग्राम निर्माणाधीन रहेको अध्यक्ष नेपालले बताए।
यस्तै, महासंघले मन्त्री भण्डारीसमक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायीलाई मर्का परेको भन्दै ढुवानी व्यवसायीको वर्गीकरण गर्न माग गरेको छ।
महासंघका महासचिव पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्रमा करयोग्य आय गणना गर्दा खर्च कटौती पाउने व्यवस्था मिलाउन आग्रह गर्दै ढुवानी क्षेत्रका समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिदिन माग गरिएको छ।