काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आवको पछिल्लो तीन महिनामा मापदण्डविपरीत रहेका ५० ओटा होर्डिङ बोर्ड हटाएको छ । महानगर क्षेत्रमा राखिएका होर्डिङ बोर्ड, फ्लेक्सलगायतका विज्ञापनबाट चालू आवको मध्य असारसम्म महानगरपालिकाले १० करोड कर सङ्कलन गरेको छ ।
काठमाडौं महानगरपालिकालाई कुरुप बनाउने तथा सडक सुरक्षामा चुनौतीको रुपमा रहेका स्वीकृति नलिएका तथा मापदण्ड पूरा नगरेका होर्डिङ बोर्ड हटाउने अभियानअन्तर्गत महानगरपालिकाले यस चालू आवको गत वैशाखदेखि हालसम्म ५० ओटा होर्डिङ बोर्डहरु हटाएको नगर प्रहरी कार्यलयले जानकारी दिएको छ ।
त्यस्ता होर्डिङ बोर्डहरु नगर प्रहरीले सुन्धारा, गैरीधारा, एयरपोर्ट, माइतीघर, थापाथली, सोह्रखुट्टे, तीनकुने, पुतलीसडक, माछापोखरी, कमलादी, दरबारमार्ग, ज्ञानेश्वर, गोङ्गबु, कालिमाटी, बिजुली बजार, चाबहिल, ज्ञानेश्वर, बानेश्वर, बल्खु, कलङ्की, त्रिपुरेश्वर, टेकु आदि स्थानबाट हटाएको हो ।
अनुगमनमा काठमाडौं महानगरमा ८७ ओटा होर्डिङ बोर्डहरु पाइएका छन्, जसमध्ये ७० ओटा होर्डिङ बोर्ड स्वीकृत लिएका थिए । अन्य १७ ओटा अनाधिकृत रुपमा राखिएका होर्डिङ बोर्डहरु हटाइएका छन् । स्वीकृति प्राप्त ७० ओटा होर्डिङ बोर्डमध्ये ५० ओटा महानगरको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति, २०७० ले जारी गरेको मापदण्डविपरीत पाइएका थिए ।
नगर प्रहरीले होर्डिङ बोर्ड हटाउने कार्यमा काम गरिरहेको र मापदण्डविपरीत फेला परेका होर्डिङ बोर्डहरुलाई दोहोर्याएर पनि हटाइरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
यस्तै महानगर क्षेत्रमा प्रचारप्रसारका लागि राखिएका र राख्न दिइएका व्यावसायिक, सचेतनामूलक तथा सरकारी सूचनायुक्त विभिन्न किसिमका बोर्ड तथा प्रचार सामग्री, होर्डिङ बोर्डलगायतबाट चालू आर्थिक वर्षमा अहिलेसम्म १० करोड राजस्व सङ्कलन गरेको महानगरपालिकाको राजस्व कार्यलयले बताएको छ । गत आवमा ९ करोड ५० लाख राजस्व संकलन भएकोमा चालू आवमा करिब १५ प्रतिशत बढी राजस्व संकलन भएको महानगरका राजस्व प्रमुख नूरनिधि न्यौपानेले जानकारी दिए ‘महानगर परिसर क्षेत्रमा राखिएका यस प्रकारका सामग्रीबाट चालू आवमा १५ करोड राजस्व संकलन गर्ने हाम्रो लक्ष्य थियो । तर पूरा हुन सकेन चालू आवको अन्तिमसम्म करिब डेढ करोड रुपैयाँ थप सङ्कलन हुन्छ,’ उनले भने ।
महानगरले डिजिटल होर्डिङ बोर्डलाई प्राथमिकता दिएको र त्यसलाई प्रोत्साहन गर्न करमा पनि छूट दिइरहेको प्रवक्ता डङ्गोलले बताए । हाल महानगरले एक सय वर्गफिटको डिजिटल होर्डिङ बोर्डबापत वार्षिक सात सय रुपैयाँ राजस्व सङ्कलन गर्दै छ भने सोही आकारको सामान्य होर्डिङ बोर्डबाट हजार रुपैयाँ राजस्व संकलन गर्दै छ ।