काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रिक्त सेवा आयोगको सदस्य पदका लागि दरखास्त आह्वान गरिएको छ। चैत १८ मा आह्वान भएको आवेदनको म्याद चैत २८ गतेसम्म छ। आयोगको सदस्य छनोट गर्न त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा समिति बनेको छ। उक्त समितिले सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि बनाएर दरखास्त आह्वान गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापूर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ। आवेदन दिने व्यक्तिसँग कम्तीमा १० वर्ष उच्च शिक्षा अध्यापनको अनुभव, कम्तीमा २ वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको अनुभव हुनुपर्ने पनि मापदण्ड छ। आवेदन दिँदा विद्यावारिधि उपाधिको प्रमाणपत्र र प्राध्यापक पदमा नियुक्तिपत्रको प्रतिलिपि, प्राज्ञिक अभ्यासको हकमा सूचिकृत जर्नलमा प्रकाशित लेखको विवरण र वा 'लिंक' समावेश गर्नुपर्ने छ।
त्यस्तै उच्च शैक्षिक संस्थाको व्यवस्थापकीय पदमा २ वर्ष अनुभवको प्रमाणको प्रतिलिपि, विश्वविद्यालयसँग स्वार्थ नबाझिएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदका लागि अयोग्य नरहेको र कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन सेवा आयोगको निष्पक्षता, तटस्थता, गुणस्तर र कार्यक्षमता अभिवृद्धिको निमित्त आगामी रणनीति सम्बन्धी कार्ययोजनासहितको ३ हजार शब्दको सोचपत्र, अन्तराष्ट्रिय गोष्ठी, अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भए सोको प्रति र विवरण सहित नेपाली नागरिकताको प्रतिलिपि राखेर आवेदन दिनुपर्नेछ।
आवेदनका लागि ६५ वर्षको उमेर हद कायम गरिएको छ। तीनजना सदस्य रहेको पदाधिकारी छनौट विज्ञ उपसमितिले प्राप्त आवेदकहरुको योग्यता र कृतिको मुल्यांकन गरेर शर्ट लिष्टेड गर्नेछ। उपसमितिको सिफारिस पश्चात मूल छनोट समितिले प्रस्तुतीकरण र अन्तर्वाता लिएर उत्कृष्टता आधारमा सदस्य सिफारिस गर्ने शिक्षा मन्त्रालयले जनाएको छ।