काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याक्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ। प्रो–सञ्जय लामा नेतृत्वको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात् चौथो स्थान हासिल गरेको हो।
एकदिवसीय प्रतियोगितामा कुल २९ कर्पोरेट हाउसका सहभागीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फर रहेका थिए भने प्रतियोगिता १८–होलमा खेलाइएको थियो।
एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फर जय आचार्य (एनसेल–सिंगल ह्यान्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह््यान्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्यान्डीक्याप) रहेका थिए। लामाले तेस्रो रनर अप बनेकामा १०,००० रुपैयाँ नगद पुरस्कार जितेको एनसेलले बताएको छ।
व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकोप्टर समूहले प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।कैलाश हेलिकोप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो। रोक्काले ५०,००० नगद पुरस्कार पनि जितेका छन्।
मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात् उपविजेता बनेको थियो । यसका लागि खड्काले ३०,००० नगद पुरस्कार जितेका थिए।
त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईं नेतृत्वको सपोर्ट नेपाल फाउन्डेसनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो।
चौलागाईंले २०,००० नगद पुरस्कार जितेका थिए। सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रालिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिन उपाधि जितेका थिए। उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले आयोजना गरेको थियो। प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा हिमालयन बैंक, साल्ट ट्रेडिङ, हाइडेलबर्ग, अर्सिया कउचर, क्रिएसन्स सफ्ट नेपाल, एईडीए, डायनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाटभटेनी इन्टरनेसनल प्रालि, लामा एक्सकर्सन प्रालि, जावलाखेल गु्रप अफ इन्डिस्ट्रिज् (जेजीआई), विजय मोटर्स, विजडम ल सोलुसन्स, ब्याड ब्वाइज गु्रप, लियोन मोटर्स, प्रिमियर अर्गानिक्स र सालिकोको सहभागिता थियो।