काठमाडौं। चैत १५ को मन्त्रीपरिषद बैठकले एकैपटक १० सचिवहरुको सरुवा गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन्। सचिव शर्माले साढे १४ महिना भौतिक सचिवको जिम्मेवारी सम्हालेर बाहिरिएका हुन्।
उनको ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका (सिँचाइ) सचिव गोपाल सिग्देल पुगेका छन्। यस अघि पनि शर्माभन्दा पहिला सिग्देल भौतिक सचिवका रुपमा कार्यरत थिए। सचिवका रुपमा सिग्देल भौतिक मन्त्रालयमा दोहोरिएका हुन्। यद्यपि, सचिवहरु शर्मा र सिग्देल सडक तथा यातायात क्षेत्रका क्याडर मानिन्छन्।
सिँचाई सचिवमा ऊर्जा आयोगकी सरिता दवाडी आएकी छन्। सिँचाइ सचिव रहेका सुशीलचन्द्र तिवारीलाई सोही मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग) सचिव मुकुन्द निरौला उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन्। निरौलाको ठाउँमा सचिव कृष्णबहादुर राउत पुगेका छन्। बिहिबारकै मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई निर्वाचन आयोगको कार्यालयमा सरुवा गरी मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई वाणिज्यमा ल्याएको छ।
उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन्। सचिव केवलप्रसाद भण्डारीको अनिवार्य अवकास भएपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जिम्मेवारी पाएका छन्।
विहीबारको मन्त्रीपरिषद्ले सचिवहरु सरुवा गरेपनि हालसम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन। तर, सचिवहरुले आफु कार्यरत मन्त्रालय एवं कार्यालयबाट बिदाइ लिन थालेका छन्।
सामान्यतया मन्त्री परिवर्तन भएपछि आफु मन्त्रालयमा सचिवदेखि विभागका महानिर्देशक एवं अन्य कर्मचारी सरुवा गर्ने प्रवृत्ति हाबी छ। पछिल्लो सयम गठबन्धनमा फेरबदल भइ फागुन २३ मा मन्त्रीपरिषद् विस्तार भएको थियो। मन्त्रीहरु परिवर्तन भएपछि आफु अनुकुल कर्मचारी परिवर्तन गर्न सुरु गरेका छन्।