काठमाडौं। कोराना महामारीपछि व्यापार खस्किँदै गएसँगै नेपालमा सञ्चालित केके सुपरमार्ट बन्द हुने भएको छ। पछिल्लो समय कोभिड र त्यसपछि जारी आर्थिक मन्दीले व्यापार आरोलो लागिरहेको बेला घरभाडासमेत महँगो भएको भन्दै व्यवस्थापन पक्षले केके सुपरमार्ट बन्द गराउन लागेको हो।
यती ग्रुपले साझेदारीमा मलेसियामा ठूलो चेन भएको केके सुपरमार्ट नेपालमा २०६९ पुसमा सुरु गरेको थियो। मार्टले सञ्चालनमा आएको ११ वर्षपछि आर्थिक संकटमा पर्दै गएको बताएर आगामी नयाँवर्ष २०८१ देखि पूर्ण रुपमा बन्द गर्ने जानकारीसहितको पत्र घरबेटीलाई पठाउन थालेको छ।
यती ग्रुपका एक अधिकारीका अनुसार व्यापार घट्दै गएपछि भाडा तिर्न मुस्किल हुन लागकाले केके सुपरमार्ट बन्द गर्न लागिएको हो। ‘महँगो घरभाडाका कारण व्यवसाय टिकाउनै मुस्किल भएपछि बाध्य भएर बन्द गर्ने निर्णयमा पुगेका हौं,’ ती अधिकारीले भने।
अहिले काठमाडौं उपत्यका भित्र १२ वटा सुपरमार्ट सञ्चालनमा छन्।
काठमाडौंमा दैनिक १२ घन्टासम्म सञ्चालन गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको केके सुपरमार्ट यती ग्रुपबाट स्व. आङछिरिङ शेर्पाका छोरा नोर्बुले हेरिरहेका छन्।
अहिले नोर्बुले तारा एयरको व्यवस्थापन हेरिरहेका छन्। एयरलाइन्स र सुपरमार्ट हेर्न समय पर्याप्त नहुने र कर्मचारीको भरमा जिम्मा लगाउँदा समस्या आउने भएपछि नोर्बुले पनि मार्ट बन्द गर्न सहमत जनाएको यती स्रोतको भनाइ छ।
मार्टमा मन्दीको प्रभाव
पछिल्लो समय मुलुकमा जारी आर्थिक मन्दिको प्रभाव समग्र मार्ट क्षेत्रमै परिरहेको छ। केही समयअघि काठमाडौंका गल्लीगल्लीमा विभिन्न नाममा मार्ट खुले पनि अहिले अधिकाशं बन्द भइसकेका छन्। केही समयअघि साथी मार्ट पनि बन्द भइसकेको छ।
अहिले सबैभन्दा बढी सञ्चालनमा भाटभटेनी सुपरमार्केट रहेको छ भने बिगमार्ट पनि आफ्नो शाखा विस्तारमा आक्रामक भइरहेको छ। भाटभटेनी र बिगमार्टबाहेक अन्य मार्ट राम्रोसँग चल्न सकिरहेका छैनन्।
नाम मिल्दा समस्यामा थियो यती ग्रुप
यती ग्रुपद्वारा सञ्चालित यती एयरलाइन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत उमेश राईले पनि केके सुपरमार्टकै नाममा अर्को मार्ट सुरु गरेका छन्।
खासगरी यती एयरलाइन्सबाट छुटेपछि राईले आफ्नो कम्पनीको रुपमा केके मार्ट दर्ता गरेर सञ्चालनमा ल्याएपछि यती ग्रुपले चित्त दुखाएको थियो। नाम मिल्दोजुल्दो हुँदा समस्यामा परेको भन्दै बदल्न अनुरोध गरे पनि बेवास्ता हुँदा आफैं स्टोर बन्द गर्ने पक्षमा यती ग्रुप पुगेको बताइन्छ।