काठमाडौं। आगामी जेठ १५ मा प्रस्तुत गरिने आगामी आर्थिक २०८१/८२ को बजेटका लागि सुझाव दिन अर्थ मन्त्रालयले सरोकारवालादेखि सर्वसाधारण नागरिकसमेतसँग सुझाव मागेको छ।
मन्त्रालयले आज सूचना प्रकाशित गरेर विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चार क्षेत्र तथा नागरिकलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको हो। यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन बक्समा गएर वा इमेलमार्फत सुझाव दिन आग्रह गरेको छ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ। अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार बजेट मस्यौदा लेखन समिति गठन गरेसँगै बजेट लेखन प्रक्रिया सुरु भएको हो। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आइतबारबाटै बजेट लेख्ने काम सुरु भएको बताए।
सरकारले यसअघि नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अध्यादेश ल्याएर बजेट सार्वजनिक गर्नु ३ महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यसअनुसार विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त (करबाहेक)मा यसअघि नै संसद्मा छलफल भइसकेको छ।
यससँगै बजेट निर्माण प्रक्रिया सुरु भएको मानिन्छ। त्यसअघि राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ। अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो।
बजेट लेखन समूहमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव ऋतिशकुमार शाक्य, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव महेश आचार्य, वित्तीय संघीयता महाशाखा प्रमुख तथा सहसचिव ईश्वरीप्रसाद अर्याल, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा र राजस्व व्यवस्थापन महाशाखाका कम्प्युटर अधिकृत रामप्रसाद आचार्य छन्।