काठमाडौं। उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चाहेमा मुलुकभित्र सञ्चालित एयरलाइन्सले तोकेको एकाउन्टेबल म्यानेजर (जिम्मेवार व्यवस्थापक)को जिम्मेवारी खोस्न सक्छ। एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स (एओसिआर) दसौं संशोधनमार्फत क्यानको स्वीकृतिविना कुनै पनि सरकारी स्वामित्वको एवं निजी वायुसेवा कम्पनीहरूले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डहरू नियुक्त गर्न नपाइने नीति लयाएको थियो। सोही नीति बमोजिम अहिले प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष अधिकारीको एकाउन्टेबल म्यानेजरको जिम्मेवारी खोस्नका लागि स्पष्टीकरण सोधिरहेको छ।
प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले हवाई उड्डयन सुरक्षासम्बन्धी काम गर्ने व्यक्तिको अधिकार खोस्ने अधिकार रहेको बताए। नेवानिका अध्यक्ष अधिकारीले हवाई सुरक्षाका लागि प्राधिकरणले पटकपटक दिएका सुझावहरु कार्यान्वयन नगरी अटेरी गरेको र सुरक्षा चुनौती थपिएको भन्दै एकाउन्टेबल म्यानेजर पद खोस्न लागिएको उनले बताए। ‘हामीले प्राधिकरणको अधिकार प्रयोग गरेर स्पष्टीकरण सोधेका हौं,’ प्रवक्ता निरौलाले भने, ‘चित्त बुझ्दो जवाफ नआए एकाउन्टेबल म्यानेजर पद खोस्छौं, कार्यकारी प्रमुखबाट हटाउने वा नहटाउने सरकारको कुरा हो। अहिले धेरैले कार्यकारी प्रमुखको पद नै खोस्ने भन्ने पनि बुझिरहेका छन्, जुन गलत हो, हामीले हवाई सुरक्षासम्बन्धी हेर्ने निकायको जिम्मेवारी मात्र खोस्न लागेका हौं।'
प्राधिकरणले चाहेमा एकाउन्टेबल म्यानेजरको अधिकार खोसेर अर्को व्यक्तिलाई दिन सक्छन्।
एयरलाइन्सहरुमा प्राधिकरणसँग समन्वय गर्ने र उड्डयन सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गर्ने जिम्मेवार व्यक्तिको रुपमा एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिइएको हुन्छ। अहिले सबै एयरलाइन्सले एकाउन्टेबल म्यानेजर नियुक्त गरेका छन्। प्राधिकरणले सम्बन्धित एयरलाइन्समा एकाउन्टेबल म्यानेजरबाहेक अरु कोहि चिनेको हुँदैन। अर्थात् एयरलाइन्सको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नै सोही व्यक्तिलाई तोकिएको हुन्छ। एक एयरलाइन्सका पूर्वप्रमुखका अनुसार प्राधिकरणले चाहेमा एकाउन्टेबल म्यानेजरको अधिकार खोसेर अर्को व्यक्तिलाई दिन सक्छन्।
अहिले नेवानिमा कार्यकार्यकारी अध्यक्ष रहेका युवराज अधिकारी नै एकाउन्टेबल म्यानेजरको जिम्मेवारी लिँदै आएका छन्। उनले चाहेमा अर्को व्यक्तिलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिएर आफू कार्यकारी पदमा बस्न सक्ने ती प्रमुखको भनाइ छ। अधिकाशं एयरलाइन्समा सञ्चालक समितिका अध्यक्ष र एकाउन्टेबल म्यानेजर छुट्टाछुट्टै व्यक्तिहरुलाई नियुक्त गरेका हुन्छन्। तर, नेवानिमा भने एकै व्यक्ति अध्यक्ष र एकाउन्टेबल म्यानेजरको रुपमा रहँदै आएका छन्।
गम्भीर लापरबाही गरे अधिकारी खोस्न सक्छन्
एकाउन्टेबल म्यानेजरका रुपमा रहेका व्यक्तिले गम्भीर लापरबाही गरेको पाइएमा अधिकार खोस्न मिल्ने सम्बन्धित क्षेत्रका प्रमुखहरुको भनाइ छ। ‘हवाई सुरक्षासँग सम्बन्धित रहेकोले एकाउन्टेबल म्यानेजरको काम गराई र उनले निर्वाह गरेको भूमिकामा चित्त नबुझेको खण्डमा प्राधिकरणले तिम्रो हस्ताक्षर हामी मान्दैनौं भन्न सक्छन,’ एक पूर्व प्रमुखले भने,’ सायद अधिकारीलाई प्राधिकरणले त्यही अधिकारमा टेकेर स्पष्टीकरण सोधेको हुन सक्छ।‘
प्राधिकरणले चैत १३ गते २७ बुँदे प्रश्नसहित अधिकारीलाई स्पष्टिकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभए एकाउन्टेबल म्यानेजरको जिम्मेवारी खोस्ने चेतावनी समेत दिइएको छ।