काठमाडौं। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन सुरु गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले शुक्रबार बजेट मस्यौदा लेखन समिति गठन गरेसँगै बजेट लेख्ने प्रक्रिया सुरु भएको हो। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आइतबारबाटै बजेट लेख्ने काम सुरु भएको बताए।
सरकारले यसअघि नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अध्यादेश ल्याएर बजेट सार्वजनिक गर्नु ३ महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यसअनुसार विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त (करबाहेक)मा यसअघि नै संसद्मा छलफल भइसकेको छ। यससँगै बजेट निर्माण प्रक्रिया सुरु भएको मानिन्छ। त्यसअघि राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ। अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो।
बजेट लेखनको प्रारम्भिक प्रक्रिया सुरु भएसँगै अर्थ मन्त्रालयको खुला आवतजावत रोकिएको (ढोका बन्द गरिएको) छ। प्रवक्ता खत्रीले बजेट लेखनमा जुट्दा भीडभाड नहोस् र गोपनीयता कायम रहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयको ढोका बन्द गरिएको बताए। ‘ढोका बन्द भन्नाले पुरै बन्द भन्ने हुँदैन।
तर विगतमा जस्तो बिना जानकारी सरासर भित्र छिर्न पाइँदैन,‘ प्रवक्ता खत्रीले भने, ‘जसलाई भेट्ने हो, उसँग समय लिएर÷अनुमति लिएर आउन भने रोकिएको छैन।’ बजेट लेखन सुरु भएसँगै आफ्नो क्षेत्रमा बजेट पारिदिन भन्दै राजनीतिज्ञ, बहालवाला तथा पूर्वकर्मचारी र अन्य सरोकारवालाहरुको अर्थ मन्त्रालयमा जमघट हुने गर्दछ। त्यो जमघट रोक्न पनि अर्थ मन्त्रालयले बजेट बनाउने बेला मन्त्रालय प्रवेशमा कडाइ गर्छ।
नयाँ गठबन्धनका रुपमा प्रवेश गरेको नेकपा एमाले र नयाँ दलका रुपमा चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रधानमन्त्रीका बोलीमा लोली मिलाउँदै अब आउने बजेटले मुलुकको तमाम समस्या समाधान गर्न उद्यत हुने बताउँदै आएका छन्।
मुलुक संघीयतामा गएपनि स्थानीय तह, प्रदेश र संघकै सांसदहरु र मन्त्रीसमेत आफ्नो क्षेत्रमा बजेट पार्ने भन्दै अर्थ मन्त्रालयका सहसचिवहरुलाई रिझाउने कोसिस गर्दछन्। सामान्यतया बजेट लेखन टिमका व्यक्तिहरु बिहान ८ बजेदेखि नै मन्त्रालयमा सक्रिय हुन्छन्। बजेट लेख्ने टिमलाई कुनै किसिमको असहजता र दबाब नहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयले बजेट लेखन सुरु भएदेखि सार्वजनिक नभएसम्म ढोका बन्द गर्ने चलन पहिलेदेखि नै चल्दै आएको छ।
बजेट लेखन समूहमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव ऋतिशकुमार शाक्य, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव महेश आचार्य, वित्तीय संघीयता महाशाखा प्रमुख तथा सहसचिव ईश्वरीप्रसाद अर्याल, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा र राजस्व व्यवस्थापन महाशाखाका कम्प्युटर अधिकृत रामप्रसाद आचाय छन्।
कस्तो आउला बजेट?
मुलुक आर्थिक मन्दीमा रहेको बेला आउन लागेको नयाँ बजेटलाई विषेश चासोका साथ हेरिएको छ। २०८१ जेठ १५ गते सार्वजनिक हुने बजेटले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउने अपेक्षा धेरैले लिएका छन्।
खासगरी प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि कांग्रेसँगको गठबन्धनका अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै बजेटको मुखमा गठबन्धन फेरेर नयाँ अर्थमन्त्रीका रुपमा आफ्नै पार्टी (माओवादी) केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्।
तर, प्रधानमन्त्री दाहालले ल्याउन चाहेको बजेट कस्तो हो अहिलेसम्म खुलाएका छैनन्। प्रधानमन्त्रीले धेरै सार्वजनिक कार्यक्रमहरुमा अर्थतन्त्रलाई चलायमान बनाउन ठूलैखालको हलचल ल्याउने गरी बजेट ल्याउनुपर्ने बताउँदै आएका छन्। नयाँ गठबन्धनका रुपमा प्रवेश गरेको नेकपा एमाले र नयाँ दलका रुपमा चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रधानमन्त्रीका बोलीमा लोली मिलाउँदै अब आउने बजेटले मुलुकको तमाम समस्या समाधान गर्न उद्यत हुने बताउँदै आएका छन्।
यसकारण पनि नयाँ बजेटप्रति बढी चासो छ। घढ्दो राजस्व स्रोतको चापका बीच बढ्दो सामाजिक सुरक्षा खर्चलाई व्यवस्थापन गरी पूर्वाधार निर्माण केन्द्रित बजेट ल्याउन सरकारलाई उच्च दबाब भने छ।