काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४९३ मि लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
मुख्य सुरुङको व्यास ७.४ मिटर रहनेछ। अब मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गरिनेछ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे। 'कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,' उनले भने।
सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए। 'मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थ्रु गरी आयोजनाका मुख्य माइलस्टोनहरु पूरा भएका छन्,' उनले भने, 'निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नुपर्छ।' आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण चाँडै अगाडि बढाइने उनले बताए।
आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायत विषयमा जानकारी गराए। मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरिएको छ। निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ। समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्म नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण भइरहेको छ।