काठमाडौं। सिन्धुपाल्चोकको बलेफीका सन्तोष भण्डारी र सुरज थापा सानैदेखिका मिल्ने साथी हुन्। एउटै टोलमा घर भएका भण्डारी र थापाले कक्षा १० सम्मको अध्ययन गाउँमा सँगै गरे। एसएलसी दिएपछि काठमाडौं छिरेका दुई साथी केही वर्ष भने छुट्टिए।
गाउँमा रहँदा व्यावसायिक कुराकानीमा रमाउने उनीहरुले भविष्यमा पनि सँगै काम गर्नुपर्छ भन्ने योजना सुरुमै लिएका थिए। तर, कहाँबाट कसरी गर्ने, निधोमा भने पुगेका थिएनन्।
काठमाडौंमा आएपछि सुरुमा उनीहरुको भेटघाट धेरै बाक्लो भएन। तर, सामाजिक सञ्जालमार्फत कुराकानी भने भइरहन्थ्यो। ७ वर्षअघिको एउटा भेटले उनीहरु कफी सप खोल्ने निधोमा पुगे। ठाउँ खोज्दै जाने क्रममा गाउँकै साथीले डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्ट अगाडिको क्याफे लुवाक बिक्री गर्ने थाहा पाएछन्। त्यसपछि सोही क्याफे खरिद गरे। आफ्नो नाममा क्याफे लिएपछि नयाँ ढंग र साजसज्जासहित सञ्चालनमा लागे।
उमेरले ३० वर्ष पुगेका भण्डारी र थापाले क्याफे चलाएको ६ वर्ष बितिसकेको छ। डिल्लीबजारको मूख्य चोकमै रहेको क्याफे लुवाकलाई धेरै सेलिब्रिटीको भेटघाट जक्सनको बनाइरहेका छन्।
करिब ५० लाख लगानीको क्याफे लुवाक
‘क्याफे लुवाक’को विशेषता भनेको ग्राहकलाई नेपाली अग्र्याानिक कफी पिलाउनु हो। क्याफेमा गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोकमा उत्पादित कफीको स्वाद लिन पाइन्छ। त्यसो त, नाम चलेका क्यापाचिनो, अमेरिकानोसँगै आइस, लाटे, चकलेटलगायत कफी पनि लुवाकमा छानीरोजी पिउने सुविधा छ।
सिन्धुपाल्चोक छाडेर काठमाडौंलाई कर्मभूमि बनाउने क्रममा व्यवसायको आँट गरेका उनीहरुलाई सुरुमा सहजै कुनै बैंकले पत्याएनन। व्यवसाय सञ्चालनको राम्रो योजना हुँदाहँुदै पनि राजधानीमा जग्गाजमिन नभएकै कारण बैंकले ऋण नपत्याउँदाको अनुभव अझै पनि स्मरणमा रहेको उनीहरु सुनाउँछन्।
तर, हिम्मत भने हारेनन्।
सहरले नपत्याएपछि गाउँको जग्गा सहकारीमा राखेर महँगो ब्याजमा ऋण लिएरै भए पनि कफी सप खोल्ने आँट गरे। सोही आँटले अहिले सफलता दिलाएको छ।
धेरैको व्यवसायीको मिटिङ स्थल, युवकयुवतीको डेटिङ स्पट तथा साथीभाइसँग गफिने जमघट सहरमा खुलेका कफी सप हुन थालेका छन्। ‘क्याफे लुवाक‘ शान्त वातावरणमा मीठो कफी पिउन रुचाउने उद्योगी, व्यापारी, सेलिब्रिटी र विद्यार्थीको रोजाइमा परिरहेको छ।
क्याफेमा कफीसँगै खाजा परिकारहरु स्यान्डविज, पिजा, बर्गर, मःम, र्याम्प, चप्सी, चिल्लीले धेरैको जिब्रोलाई लोभ्याएको छ। यस्तै, भर्जिन मजितो, फ्रेस लेमन, सोडा र लसी जुसको स्वाद पनि त्यहाँ लिन पाइन्छ।
व्यवसाय टिकाउन मदिरा जोहो गर्न नयाँ पार्टनरको इन्ट्री
कोभिड अघिसम्म व्यापार राम्रै थियो। जव कोभिड आयो व्यवसायमा क्रमिक रुपमा डाउन भएपछि व्यवसाय छाडेर विदेश जाउ र व्यवसाय नै सट डाउन गर्ने सोच उनिहरुमा नआएको भने हैन। व्यवसाय विस्तारका लागि नजिकको साथीहरु सबैलाई भने, बैंक तथा वित्तिय संस्था र सहकारीहरुमा समेत ऋणका लागि दौडिए।
तर, उनिहरुले साथ पाउन सकेनन्। अन्तिममा उनिहरुले क्याफे स्थापनाकालदेखिकै नजिकको चिनजानको साथीबाट नवलपरासी स्थायी घर भई डिल्लीबजारमा लामो समयदेखि बस्दै आएका कृष्णप्रसाद ढकालले साथ दिने निधो भयो। व्यवसायीक विस्तारका लागि सहमती भएपछि पहिलाको ठाउँलाई अझै ठूलो बनाए। मदिरा सहित राख्ने भएपछि ठाउँको विस्तारमा उनिहरु लागे।
अहिले थप १५ लाख लगानी गरेर इन्टेरियल डिजाइन नयाँ बनाई एक साथ २० देखि २५ जनाले ह्यापिनिङ पार्टिहरुलाई टार्गेट गरी विभिन्न परिकार,ककटेल,मकटेल ड्रिङ्गस थप गरिएको छ। यसले जसरी कफीको जंक्सनको रुपमा क्याफे लुवाक परिचित भएको थियो त्यहि रफ्तारमा मदिरा हवको रुपमा उचाई लिने र ग्राहकहरुको रोजाईमा पर्ने सञ्चालक ढकालको भनाइ छ।
‘कफीसँगै मदिरा राख्ने सोच हाम्रो थिएन,’ सञ्चालक भण्डारीले भने, ‘कोभिड र आर्थिक मन्दीको असरले हामीलाई नयाँ पाठ सिकायो।’ डिल्लीबजार र कालिकास्थान क्षेत्रमा राम्रा रेस्टुरेन्ट नभएकै कारण त्यसलाई पूर्ति गर्ने उद्देश्यले क्याफेलाई रेस्टुरेन्टको रुपमा विस्तार गरिएको उनीहरुको दाबी छ।
मदिरा बिक्री गर्न अहिले रेस्टुरेन्टको डिजाइनसमेत परिवर्तन गरेका छन्। बस्ने सिटसमेत थपेका छन्। सुरुमा ४० देखि ४५ सिट क्षमताको क्याफे अहिले ६० जनासम्म बस्न मिल्ने बनाएका छन्।स–साना बैठकसमेत गर्न मिल्ने गरी मिटिङ हल बनाएका छन्।
एक महिना २० प्रतिशत छुट
क्याफेबाट रेस्टुरेन्ट बनेको क्याफे लुवाकको उद्घाटन शुक्रबार गरिएको छ। साहित्यकार कुमार नगरकोटीबाट उद्घाटन गरिएको क्याफेले ग्राहकलाई एक महिनासम्म २० प्रतिशत छुट घोषणा गरेको छ। ‘खाना, खाजा र कफीमा २० प्रतिशत छुट घोषणा गरेका छौं’, सञ्चालक थापाले भने, ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने हाम्रो लक्ष्य हो।’