काठमाडौं। शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला उद्यमी व्यापार मेलाले उद्यम क्षेत्रमा महिला उपस्थिति बढ्दै गएको देखाएको छ। उद्यमी महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको प्रर्वद्धन र बजारीकरणको मुख्य उद्देश्यका साथ सुरु भएको सातौं संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महिला उद्यमीबाट उत्पादित विभिन्न व्यवसायका स्टल सहभागिताले छुट्टै आकर्षणको झल्को दिएको छ।
सातै प्रदेशका महिला उद्यमी उपस्थित भएको उक्त मेलामा राखिएका रेशाजन्य वस्तु, ढाका तथा बुनेका सामान, गलैंचा, हातेकाजगका वस्तु, जडिबुटी तथा हस्तनिर्मित सामग्रीले नेपालको प्राचीनता र मौलिकतासमेत झन्लाएको छ। त्यति मात्रै होइन, मेलाका अधिकांश स्टलमा राखिएका सामग्रीले नेपालको मौलिक उत्पादन र घरेलु सामाग्रीको साखसमेत महिलाबाटै धानिएजस्तो आभास हुने किसिमको छ। तथापि, यस्तो मौलिकता जगेर्ना गर्ने कार्यमा महिला मात्रै सामेल भएका भने होइनन्, पुरुषको सहभागिता पनि उत्तिकै रहेको छ।
मेलामा अपांगता भएका तथा नवउद्यमीका उत्पादित सामग्री र उनीहरुको कामसमेत सबैलाई उर्जा दिने किसिमको छ। मेलामा हातले बनाएका सामग्री, शृंगार सामग्री, कृषि उत्पादन, सजावटका सामग्री, घरमा बुनेका सामग्री, काठजन्य वस्तु, गरगहनालगायत विभिन्न वस्तुले नेपाली मौलिकता र पहिचान तथा हाम्रो संस्कृति र परम्परामा विविधिताको सुन्दर चित्रण गरेको छ।
मेलामा तनहँका पाँच महिला उद्यमी समूहले राखेको स्टल र तिनका सामग्री निकै आकर्षक देखिन्थे। उनीहरुले चामलको पिठोबाट बनाएको झिंगा, मकैको खोस्टाबाट बनाएको ह्याड, पोतेलगायतका वस्तु प्रदर्शनमा राखिएका छन्। उक्त पाँच महिला उद्यमी समूहकी अध्यक्ष निर्मला मल्ल वस्तुको बजारीकरण अभावका कारण अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी भएको बताउँछिन्।
‘हाम्रा समूहले उत्पादन गरेका विभिन्न समाग्री बिक्री वितरणका लागि बजारीकरणको अभाव छ,’ मल्ल भन्छिन्, ‘सामान बनाएर मात्रै हुँदैन भन्ने सोचका साथ मेलामा सहभागि भएर सामानको प्रचार–प्रसार गर्ने उद्देश्यले हामी आएका हौं।’
यस्तै, बिर्मा कुमारी थलाल कसेरासहितको पाँच जनाको अर्को महिला समूहले पनि यस्तै उदाहरणीय काम गरेको देखिन्छ। उनीहरुले केराको बोटबाट बनेका म्याट, टेबुल रनर, टिम्याट, डोरम्याट, ब्यागजस्ता सामान उत्पादन गरेका रहेछन्। यसलाई पनि उनीहरुले प्रदर्शनीमा राखेका थिए। ‘केही काम गरी आत्मनिर्भर बन्ने लक्ष्यका साथ सामूहिक रुपमा हामीले यो काम गर्दै आएका छौं,’ उनले भनिन्। शारीरिक रुपमा अशक्त उनले आफूले यस्तो उद्यम गर्न पाउँदा खुसी लागेको बताइन्।
तेह्रथुमकी चन्दा कुरुङबन्ङ्गले पनि आफ्ना हस्तनिर्मित सामग्री मेलामा राखेकी छिने। उनले हातले बुनेका ढाकाको सारी, पछ्यौयरी, कुर्ता सेट, ब्यागलगायतका वस्तु निकै आकर्षक र युनिक लाग्थे। यस्ता मेलाले आफूजस्ता उद्यमी महिलाको सीपबाट निर्मित सामानले बजार पाउने र पहिचान पाउने उनको विश्वास छ।
यस्तै, इकोसाथी नेपाल नाम दिएर अन्जना शर्मासहितको समूहले बाँसबाट विभिन्न सामाग्री उत्पादन गर्दै आएका छन्। ‘बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीद्वारा उत्पादित वस्तुले बजार पाउन सकेको छैन। बजार नपाउँदा उत्पादनसमेत बढ्न सकेको छैन,’ महिला उद्यमी अन्जना शर्मा भन्छिन्, ‘आगामी दिनमा महिलाले आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सक्छन् भन्ने उद्देश्य लिएर यस मेलामा सहभागि भएका छौं।’
उनका अनुसार प्लास्टिक प्रयोग कम गर्ने उद्दश्यले इकोसाथीले बाँसबाटै दर्जनौं संख्यामा सामग्री बनाएका छन्। उनीहरुले बाँसबाट बनाइएका काइयो, ब्रस, चम्चालगायतका वस्तु मेलामा राखेका छन्। साथै, अन्य विभिन्न सामग्री बनाउने र उत्पादन गर्ने कार्यमा सक्रिय हुने सोचमा रहेको शर्मा बताउँछिन्।
मेलामा विन बहुउद्देश्यीय सहकारीमा आबद्ध महिलाको पनि स्टल देखियो। उनीहरुले अचार, चिप्स, सेलरोटी, घिउजस्ता विभिन्न वस्तुको उत्पादन गर्दै आएका छन्। आफ्नो उत्पादन बढाउने र बजारीकरण गर्ने सोचका साथ उनीहरु मेलामा सहभागी छन्। यसरी ठूलो संख्यामा महिलाले गाउँघरका सामग्रीको उपयोग गर्दै दैनिक जीवनमा प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राखेका छन्।
चैत १६ देखि २० सम्म चल्ने उक्त मेलाले अन्य महिलालाई समेत यस्ता सामग्री उत्पादनमा प्रेरणा मिल्ने देखिन्छ। यसले ग्रामीण क्षेत्रका महिलाको उद्यमशीलता, पहिचान र प्रोत्साहन तथा हौसला बढाएको सहभागी उद्यमी बताउँछन्। नेपालभरका लघु, साना तथा मझौला महिला उद्यमीले एकअर्काको व्यावसायिक आइडियासमेत साटासाट गर्न सक्नेछन्।