काठमाडौं। नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरु भएको छ ।
चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले गरिन्। उनले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। मन्त्री साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण गरिनुपर्नेमा जोड दिइन्।
नेपाल उद्योग परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले उच्च परिमाणमा कृषि उपज आयात भइरहेको भन्दै कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। ‘कृषि वस्तुमा समेत हाम्रो परनिर्भर बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ’, उनले भने, ‘आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ।’
उनले कृषि पेसालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अवलम्बन गर्न आग्रह गरे। आगामी बजेट स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने रणनीतिमा केन्द्रित हुने विश्वास व्यक्त गरे।
परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कृषि क्षेत्रको व्यावसायिकीकरणमा जोड दिँदै कृषकले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए।
परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्माले शर्माले सम्मेलनमा महिलामुखी कृषि यान्त्रिकीकरण, नेपाको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताइन्।
कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेस गरिनेछ। दुई दिनसम्म चल्ने सम्मेलनमा उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल हुनेछ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले चितवनको पर्यटन र कृषि उद्यमशीलतामा संघले काम गरिरहेको बताए। ठूलो मात्रामा कृषकको संख्या चितवनमा रहेको र भरतपुर पर्यटन बर्ष पनि भएकाले यो कृषि सम्मेलन महत्त्वपूर्ण भएको उनको भनाइ छ।
जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले कृषि पेसा घाटाको पेसा रहेको चर्चा गर्दै विश्वको कृषि उत्पादनको औषत उत्पादन पनि नेपालले नभेटेको बताए। नीति निर्माणमा संलग्नहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए नेपालको कृषिले फड्को मार्ने उनले दाबी गरे।
सम्मेलनका प्रमुख वक्ता डा. शोभा पौडेललले सम्मेलन कृषिलाई लक्षित गरेर गरिएको पहिलो सम्मेलन बताउँदै यसरी कृषिलाई नै केन्द्रित गरी कमै कार्यक्रम हुने गरेको सुनाइन्। कृषि पेसामा महिलाको संलग्नता धेरै भए पनि प्रोत्साहन नगरिएको बताइन्।
सम्मेलनको मुख्य नारा कृषिको रुपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलताको प्रवर्द्धन रहेको छ।