बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे ६ महिना नबित्दै उप्किएको छ। कालोपत्रे उप्किएपछि सडकमा खाल्डाखुल्डी परेका छन्।
एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्रे गरेको सडक एक महिनापछि उप्किन थालेको थियो। अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन्।
कालोपत्रे उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ।
गुणस्तरहीन कामका कारण कालोपत्रे उप्किएको स्थानीयले आरोप लगाएका छन्। २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले मर्मतको काम गरेको थियो। निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ।
कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए। ‘ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ। अहिले गाडी कुदाउने खालको सडक छैन। जताततै खाल्डाखुल्डी र हिलोधुलो छ’, चालक सुनारले भने, ‘गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाई कारबाही गर्नुपर्छ।’
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए। नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्रे उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ।
लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाखमा आगामी असोज २१ सम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो। मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे। इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए।
‘निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्रे उप्किएको छ। त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो। उनीहरुलाई काम गर्न भनिरहेका छौँ’, सुवेदीले भने, ‘काम गरिरहेकै बेला पनि कालोपत्रे उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ। अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ।’
मध्यपहाडी लोकमार्ग बागलुङाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ। त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्रे भइसकेको छ।–रासस