झापा। पूर्वी नाका झापाको काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयात घटेको छ। आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थ आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ।
काँकडभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङमा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास आयात भएको छ।
अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास भारतबाट आयात भएको थियो।
पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेल आयातमा भारी गिरावट आएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/८१ को आठ महिनामा ४ अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ।
आव २०७९/८० को सोही अवधिमा ५ अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो। गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेल आयात घटेको छ। पेट्रोल, हवाई इन्धन, मट्टीतेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ।–रासस