काठमाडौं। कृषिप्रधान मुलुक नेपालमा केरा खेती र उत्पादन ठूलै मात्रामा हुने गरेको छ। केरा यस्तो वनस्पति हो, जसले जीवनमा एक पटक मात्रै फल दिन्छ। अर्थात्, एउटा बोट केराबाट एकपटक फल प्राप्त गरेपछि उक्त बोट काटेर फाल्ने गर्दछौं। तर, फलभन्दा पनि ठूलो आकारमा रहेको केराको बोट भनौं वा दाम्चा (थाम)को उपयोगबाट नयाँ वस्तु उत्पादन गर्न सके त्यसबाट प्राप्त हुने लाभ दोब्बर हुने गर्छ।
यही सोचका साथ केराको दाम्चाबाट फाइबर बनाउने योजनामा चार युवा जुटेका छन्। पोखरा विश्वविद्यालय पाँचौं सेमेस्टरमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका सौगात आचार्य, नवीन ढकाल, सचिन घिमिरे र रमिन घिमिरे केराको दाम्चा (थाम)बाट फाइबर उत्पादनमा जुटिरहेका हुन्। चार युवा आफ्नो नवीन आइडियालाई ‘अश्वत्थामा’ नाम दिएर फल प्राप्त हुनासाथ हुइँक्याइँदै आएको केराको दाम्चालाई उपयोग गरी फाइबर बनाउन लागिपरेका छन्।
केराको दाम्चाबाट फाइबर बनाएर गुणस्तरीय कपडा र सेनिटरी प्याडसमेत उत्पादन गर्ने उनीहरुको उद्देश्य छ। ‘सुरुमा हामीले केराको दाम्चाबाट फाइबर निकालेर त्यसलाई आफ्नै तरिकाले ह्यान्डमेड सामान बनाएका थियांै,’ अश्वत्थामाका सौगात आचार्यले भने, ‘यसपछि हामीले यो आइडियालार्ई विश्वविद्यालय तथा विभिन्न ठाउँमा प्रस्तुत गर्यौं। दुबईमा आयोजित एक कार्यक्रममा पनि हाम्रो आइडिया प्रथम भएको थियो।’
यसले गर्दा अश्वत्थामा समूहलाई यो आइडियामा काम गर्ने थप प्रेरणा मिल्यो। हाल उनीहरुले केराको दाम्चाबाट फाइबर बनाएर त्यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच बनाएका छन्। साथै, सोहीअनुरुपका काम पनि गरिरहेको आचार्य बताउँछन्। कलेजमा अध्ययनकै क्रममा उनीहरुले केराको दाम्चाबाट फाइबर उत्पादन गरेर अन्य विभिन्न वस्तु बनाउने कुरा थाहा पाए। तर, नेपालमा यस्तो किसिमको काम वा उत्पादन भने भएकै थिएन।
त्यसपछि उनीहरुले यस विषयमा परीक्षण गरिहेर्ने सोच बनाए। ‘हामीले हालसम्म नमुना परीक्षणको रुपमा फाइबर उत्पादनको काम गरिरहेका छौं। यो परीक्षण अवधिमै छ,’ आचार्यले भने, ‘हामीले बनाएको सामग्री आफूसँग जोडिएका आफन्त तथा साथीभाइमा बिक्री गर्ने काम पनि गरिरहेका छौं।’ केराको दाम्चाबाट फाइबर निकालेर उक्त फाइबरलाई कपडामा परिणत गर्न मेसिनको आवश्यक्ता पर्दछ। तर, सो मेसिन उनीहरुसँग उपलब्ध छैन।
मेसिन नभए पनि उनीहरुले महिला सीप विकास संगठनसँगको सहकार्यमा हातले बुनेर मफलर, खादा बनाएका छन्। आफ्नो कलेजका हरेक कार्यक्रममा उनीहरुले केराको फाइबर मेड मफलर र खादा लगाउने प्रचलन स्थापित गरेका छन्। केराको दाम्चाबाट हाल ऊनका डल्ला बनाइरहेका उनीहरुले विदेशी फेसन र डिजाइनसँग प्रतिस्पर्धा गर्न कठिन भए पनि यही ऊन निर्यात गरेर आम्दानी गर्ने सोच बनाएका छन्।
नेपाली बजारसहित विदेशी बजार लक्षित उत्पादन र बजारीकरण गर्न सके नयाँ सोच थप प्रगतितिर लम्किने विश्वास उनीहरुको छ। त्यसैले हाल अश्वत्थामालाई कसरी बाहिरी मुलुकसँग जोड्ने भन्ने विषयलाई पनि प्राथमकितामा राखेर अगाडि बढेको आचार्य सुनाउँछन्। अश्वत्थामाले महिला सीप विकास संगठन र गण्डकी प्रदेशसँग पनि यसलाई अघि बढाउन सहयोग मागेको छ।
‘केराको फाइबरमा पानीलाई समायोजन गर्ने क्षमता राम्रो हुन्छ। त्यसैले सेनेटरी प्याड बनाउँदा उपयुक्त हुन्छ कि भन्ने विषयमा हाल अध्ययन गरिरहेका छौं,’ आचार्यले भने। उनका अनुसार केराको फाइबरबाट प्रिमियम सेनेटरी प्याड उत्पादन सुरु गर्न विश्वविद्यालय ग्रान्ड कमिसनबाट ४० लाख रुपैयाँ प्राप्त भएको छ। साथै, अन्य सहयोगी हातहरु पनि बढ्दै गएका छन्। यसले अश्वत्थामाको सोच र योजना सफल बनाउँदै लग्ने सम्भावना बलियो बन्दै गएको छ।
केन्यामा सेनेटरी प्याड उत्पादन गरिरहेको इकोपाना कम्पनीसँग पनि सल्लाह गरिरहेका छन्। उनीहरुको सहयोगमा नेपालमा केराको फाइबरबाट बनेको सेनेटरी प्याड उत्पादन गर्ने सोच अश्वत्थामाको छ। हाल उनीहरु लगानी प्राप्त गर्न र मेसिन ल्याएर व्यवसाय थाल्ने तयारीमा जुटेका छन्। यो सोच र आइडियालाई थप परिस्कृत, व्यावहारिक तथा व्यवसायी बनाउने सोचमा पनि काम गरिरहेको अश्वत्थामाका आचार्य सुनाउँछन्।