काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले पुँजीबजार विकास र विस्तारका लागि गर्नुपर्ने काम तत्काल अगाडि बढाउने आश्वासन दिएका छन्।
बिहीबार धितोपत्र बोर्ड तथा लगानीकर्ता संघका अधिकारीसँगको भेटमा मन्त्री पुनले पुँजीबजार विकास र विस्तारका लागि गर्नुपर्ने काम तत्कालै अगाडि बढाउने आश्वासन दिएको पुँजीबजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेलले जानकारी दिइन्।
‘भेटमा अर्थमन्त्री पुनले समग्र क्षेत्रबाट आएका सुझावलाई हेरेर गर्नुपर्ने काम तत्कालै अगाडि बढाउन सकारात्मक रहेको बताउनुभएको छ। उहाँले पुँजी बजारको अवस्था र सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बारे चासो राख्नुभएको छ,’ अध्यक्ष पोखरेलले क्यापिटल नेपासँग भनिन्, ‘पुँजी बजार पूर्ण रुपमा नबुझेपनि समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता अर्थमन्त्रीले हामीसँग जनाउनुभएको छ।’
सेयर बजारका समस्या र लामो समयदेखि ‘प्यानिक’ रहेका लगानीकर्ताको मनोबल बलियो बनाउन आफूले चाल्नुपर्ने कदमको लागि प्रयासरत रहेको भेटमा अर्थमन्त्रीले राखेको पोखरेलले जानकारी दिइन्।
अध्यक्ष पोखरेलले लगानीकर्ताका तर्फबाट संस्थागत लगानीकर्तालाई २० करोडको क्याप र व्यक्तिगतको क्याप खुला गरिदिन, भारित औषत १०० प्रतिशत झार्न र पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत तथा प्राकृतिक व्यक्तिलाई २.५ प्रतिशत कायम गरी १ बर्ष भन्दा बढी समय सेयर होल्ड गर्ने सबैलाई लाभकर एक प्रतिशत मात्रै कायम गर्न सुझाएको बताइन्।
अर्थमन्त्री पुनसँग लगानीकर्ता संघ अध्यक्ष पोखरेल, धितोपत्र बोर्डका निमित्त अध्यक्षसमेत रहेका कार्यकारी निर्देशन नवराज अधिकारीले छलफल गरेका हुन्। भेटमा सानोतिनो र टालटुले परिवर्तनले पुँजी बजार सुधार नहुने भएकाले मौद्रिक नीतिमार्फत कसिलो बनेका नीति फुकुवा हुनुपर्ने विषयमा पनि छलफल भएको छ।
यस्तै, नेपाली बजारको दिगो विकास, विस्तार र स्थायित्वका बहस गर्दा पनिख सानातिना समाचार, घटना, राजनीति र राष्ट्र बैंकको मौद्रिक नीतिबाट बढी निर्देशित वा प्रभवित हुने गर्दा बजार प्रभावित हुने गरेको विषय पनि छलफलका क्रममा उठेको अध्यक्ष पोखरेलले बताइन्।