क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन् संक्षेपमा सातभरका मुख्य–मुख्य आर्थिक समाचारः
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ। नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले चैत १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यस्तो बताएको हो। भेटमा प्रधानमन्त्री दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एआइआइबीलाई आग्रह गरेका थिए। एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशक, उपाध्यक्ष एवं उच्च अधिकारीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेका थिए। सोही प्रतिनिधिमण्डलसँगको चैत १२ को भेटमा अर्थमन्त्री वर्षमान पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए। एआईआईबी प्रतिनिधिमण्डलले प्रधानमन्त्री, निजी क्षेत्रको छाता संगठन एफएनसिसीआई, विद्युत् प्राधिकरणलगायत संस्थाका प्रतिनिधिसँग पनि नेपालमा लगानी सम्भावनाबारे छलफल गरेको थियो।
नेपालको आकर्षक रोजगार गन्तव्य इजरायल रोजगारी हालका लागि बन्द भएको छ। सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको हाे। विभागले चैत १४ मा सूचना जारी गर्दै बिजनेस टु बिजनेस(बी टु बी) माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पुनरवलोकनका लागि समिति गठन भई अध्ययन भइरहेकाले हाललाई भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको हो। नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौताअनुरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउँदै आइएको थियो। विभागले पहिलोपटक कृषि क्षेत्रमा २ सय कामदार पठाउनको लागि छनोट गर्न काठमाडौं इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई अनुमति दिइएको थियो। यो पनि रोकिएको छ। सरकारले इजरायल राेजगारी बन्द गरे पनि द्वन्द्वग्रस्त मुलुक रसियामा भने खुलाएको छ।
चालू वर्षका लागि विनियोजन गरिएको १ अर्बको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट काटिएको छ। शिक्षा मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्न उक्त कार्यक्रमलाई स्थगन गरेको हो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनर्निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच चैत १२ मा अर्थ मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङमा गरी ७ सयभन्दा बढी विद्यालय भवन क्षति भएका थिए।
उपत्यकाको फोहोर विसर्जन स्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट सञ्चालन समस्या पहिल्याउन गठित समितिले समाधानका लागि विभिन्न निर्णय सुझाएको छ। फागुन २६ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गठित समितिको चैत १४ मा बसेको बैठकले समस्या समाधानका लागि विभिन्न उपाय अपनाउने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार बन्चरेडाडाँमा फोहोर विसर्जन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहोरमैला वर्गीकरण गरी बन्चरेडाँडा ल्यान्डफिल साइटमा जाने फोहोरको परिमाण कम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने निर्णय गरिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी थाल्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा चैत १४ मा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्। उनले नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरी ‘स्कुल अफ थट’ भए पनि दबाबमा रहेको अर्थतन्त्रलाई उँभो लैजान परम्परालाई छाडेर उत्पादन र रोजगारमुखी बजेट ल्याउनुपर्ने धारणा व्यक्त गरे। बैठकमा अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सरकारका विभिन्न मन्त्रालयका सचिव, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारी सहभागी थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, दिगम्बर झालगायत १९ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चैत १५ मा अख्तियारले प्राधिकरणका दुई पूर्वअध्यक्षसहित पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकत्रय सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र र दीपेश आचार्य, आन्तरिक लेखापरीक्षण उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कवीन्द्रराज मल्लविरुद्धभ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको हो। अदालतमा दायर मुद्दामा २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको गरिएको अख्तियारको सूचनामा उल्लेख छ।
एक वर्षे अवधिमा प्रहरीमा ५९ हजार ६१ वटा उजुरी परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ०७९ चैत १० देखि २०८० फागुन ३० सम्मको अवधिमा बैंकिङ कसुरको मुद्दा मात्रै १३ हजार २ सय ७७ वटा दर्ता भएका छन्। प्रहरी प्रधान कार्यालयले चैत १५ मा पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार एक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै १७ हजार ३९७ वटा घटना र जाहेरी दर्ता भएका हुन्।
अघिल्लो साता २ हजार ०४८.५७ बिन्दुमा रहेको नेप्से परिसुचक यो साताभरि उतारचढाव भइरहँदा कारोबारको अन्तिम दिन बिहिबार २ हजार ०३५.६४ बिन्दुमा रहेको छ। समग्रमा १२.९३ अंकको गिरावट देखिएको छ। सेयर बजारमा यो साता कुल ९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता १६ अर्ब २३ करोड रुपैयाँ कारोबार भएको थियो।
आगामी वैशाखमा हुने भनिएको तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय आयोजनालाई पनि ‘सो केस’ मा राखिने भएको छ। अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले चैत १५ मा यस्तो जानकारी दिएका हुन्। अर्थमन्त्री पुनले निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न आग्रह गरे। छलफलमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेसका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आ–आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाबारे अर्थमन्त्रीलाई जानकारी गराए। जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरुले बताए।