काठमाडौं। खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएकामध्ये थप ७ खानी उत्खनन्का लागि चालू आर्थिक वर्षमा अनुमति दिएको छ। चालू आवमा दिइएका अनुमतिसँगै उत्खनन्का लागि अनुमति दिइएका खानीको संख्या १५९ पुगेको छ। विभागले देशका विभिन्न क्षेत्रमा खानी उत्खनन्का लागि गत आर्थिक वर्षभन्दा अघि १५२ खानीलाई अनुमतिपत्र प्रदान थियो। चालू आवमा थप ७ वटालाई अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।
विभागले ४२२ खानी खोजतलास गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ। नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि यसअघि ३५९ खानीलाई खोजतलास प्रदान गरेको विभागले चालु आवमा थप ६३ खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरेको सूचना अधिकारी बाँस्कोटाले बताए। उनका अनुसार फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले विभागले यस वर्ष मात्रै १० भन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए।
उनका अनुसार पूर्वी रुकुमको भूमे गाउँपालिकास्थित झुलावाङ क्षेत्रमा फलाम, सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौला बजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुबी, रुकुममा तामा, उदयपुरको रतुवामाईमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुंगाको अध्ययन भइरहेको छ।
चालू आवमा सो विभागले खनिज कार्यका लागि अनुमतिपत्र प्रदान भएका कम्पनीले समयमा नै काम नगरेको भन्दै १०७ खानी तथा कम्पनीको अनुमतिपत्र रद्द गरेको छ। चालु आवमा ८२ खानीको अनुगमन तथा निरीक्षण गरिएको छ। विभागले चालु आवको फागुनसम्म खानी उत्खनन् तथा खोजतलासका लागि अनुमति प्रदान गरेबापत ३३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।