काठमाडौँ। सातौं संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ चैत १६ देखि सुरु हुँदै छ। उद्यमी महिलाको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफवीन)ले आयोजना गर्ने यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।
उद्यमी महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातका लागि सहजीकरण गर्न मेला आयोजना गरिँदै आएको छ।
महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसी, बिजनेस डेभलपमेन्ट, क्यापसिटी बिल्डिङ र नेटवर्किङमा केन्द्रित रहेर काम गर्दै आएको छ। सोही उद्देश्यअन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ।
मुख्यगरी मेलाबाट उद्यमी महिलालाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्। उनले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् या महासंघले सिकाएर। उद्यम व्यापार गरिरहेका छन् । तर, मेलामा आफूजस्तै उद्यम गरेकाले के–कसरी गरेका छन्, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथीहरुको हेरेर पनि सिक्ने मौका मिल्छ।’
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौं’ नारासहित महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको संस्थाले उद्घाटन समारोहमा उच्चपदस्थ व्यक्ति तथा राजदूतलाई नेपाली पोसाकमा ‘र्याम्पो वाक’ गराउने बताइएको छ।
लामो समयदेखि उद्यम गर्दै आएका, सीप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमी, जसलाई सहयोगको आवश्यकता छ, उनीहरुलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ। महासंघको सीएसआर फन्डबाट १२ वटा स्टल निःशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताइन्।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकताअनुसार बिउपुँजी र क्षमताअनुसार अवसर पनि प्रदान गरिनेछ। चैत १६ देखि २० सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन गरिने मेला अवलोकन निःशुल्क गरिएको छ।