काठमाडौं। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति अध्यक्ष राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरोकारवाला निकायको एउटै धारणा हुनुपर्ने बताएका छन्।
आज नेपाल उद्योग वाणिज्य महासंघ र समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै त्यसमा मन्त्रालय, विभाग र सचिवसँग छलफल गरेर खाका तयार गरिने जानकारी दिएका हुन्।
महासंघको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा भित्र्याए अर्थतन्त्रको विकास गर्न संसद्को समितिलाई ७ बुँदे सुझाव पेस गरेको छ।
विशेषगरी महासंघले पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपर्ने, हवाई खरिदमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने, विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनमा भएको रोयल्टीको व्यवस्थालाई संसोधन गर्नुपर्ने, होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्नुपर्नेजस्ता माग समितिले राखेको छ।
सभापति यादवले महासंघको उक्त मागहरु देशको हितमा भएको र यस विषयमा तत्काल सम्बद्ध निकायसँग छलफल गरी निकास दिने प्रतिबद्धता व्यक्त गरे। यादवले छलफलका क्रममा प्रस्तुत भएका महत्त्वपूर्ण विषयलाई समेटेर समितिले मस्यौदा तयार गर्ने आश्वासन दिए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन उद्योगमा देखिएका चुनौतीलाई सरकारले सक्रिय रुपमा सम्बोधन गर्दै प्रभावकारी समाधान खोज्नुपर्ने बताए। उनले यस क्षेत्रभित्रको विकास र नवप्रवर्तनलाई बढावा दिनुपर्ने भन्दै सोहीअनुरुप नीति नियम संशोधन हुनुपर्ने आवश्यकता औंल्याए।
यसैगरी महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु (अजित) बस्नेतले सरकारले हवाई टिकटमा लाग्दै आएको १३ प्रतिशत भ्याट र होटलमा लगाइएको विलासी करलाई हटाउनुपर्ने बताए। ‘हामीले सकारात्मक प्रचारप्रसार गरेर नेपाललाई विदेशी पर्यटकको गन्तव्यको रुपमा विकास गर्नु जरुरी छ,’ उनले भने, ‘तर सरकारले जुन नीति लिएको छ, त्यसले गर्दा विदेशीलाई नेपाल घुम्म आउनबाट वञ्चित गरेको छ।’ उनले नेपालको पर्यटन उद्योगलाई अनुकूल कर वातावरण सिर्जना गरी विश्वस्तरमा प्रतिस्पर्धात्मक बनाउनुपर्ने सुझाव दिए।
बस्नेतले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन, २०७५ (फिता) मा भएको रोयल्टीसम्बन्धी व्यवस्थाका साथै, विशेष आर्थिक क्षेत्र ऐन, र इलेक्ट्रोनिक लेनदेन ऐनजस्ता महत्वपूर्ण कानुनमा संशोधन गर्न सुझाव दिँदै विदेशी लगानीकर्ताका लागि नेपाललाई लगानीको मुख्य गन्तव्यको रुपमा विकास गर्न आग्रह गरे।
कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता महत्त्वपूर्ण पूर्वाधार आयोजनाको रणनीतिक सञ्चालनबारे पनि छलफल भएको थियो।
छलफलमा सांसद पशुपतिशमशेर जबराले अहिलेको अवस्थामा देशलाई पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। छलफलमा समितिमा प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री एवं समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सांसदहरु भीम आचार्य, दवीप्रकाश भट्टचन, पशुपतिशमशेर जबरा, प्रेम सुवाल, प्रकाशमान सिंह, शिशिर खनाल, महन्थ ठाकुर, प्रभु साह, उदय शमशेर जबरालगायतले आआफ्नो धारणा राखेका थिए।