काठमाडौं। पाटन बहुमुखी क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ। ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ।
क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ।
अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएको छ। विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको विभाग प्रमुख रघुवीर विष्टले बताए।
सम्मेलनको मुख्य विषय ‘न्यू इमर्जिङ डायनामिक्स अन इकोनोमिक्स’ रहेको छ, जुन विषयवस्तुमा तयार कुल ३८ रिसर्च पेपर ११ प्राविधिक सत्रमा प्रस्तुत हुँदै छन्। पहिलो दिन ६ सत्र सम्पन्न हुनेछ। सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुँदै छ। सम्मेलनमा कुल १५० जनाको सहभागिता रहेको छ।
सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताए। ‘सम्मेलनले विकास एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगीकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी गर्नेछ,’ विष्टले भने।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र तिनका विभिन्न आंगिक÷सम्बन्धन क्याम्पस तथा विभाग सहभागी छन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. भागर्व धिताल, मानविकी तथा सामाजिक विज्ञान संकायका डीन डा. कुसुम शाक्य तथा पाटन बहुमुखी क्याम्पस प्रमुख डा. लक्ष्मणसिंह कुँवरले सम्मेलनको शुभकामना व्यक्त गरे।
रेक्टर धितालले आर्थिक सुस्तता, तरलता समस्या तथा आन्तरिक उत्पादनमा गिरावटजस्ता चुनौती सम्बोधन गर्न यस्तो सम्मेलन आवश्यक रहेको बताए।
डीन शाक्यले नेपालको वर्तमान आर्थिक परिदृश्यमाथि चर्चा गर्दै अर्थतन्त्रको गतिशीलता बुझेर अतिकम विकसित मुलुकबाट विकासशील तथा मध्यम आय भएको मुलुक बन्दाको संक्रमणकालीन स्थितिलाई सम्बोधन गर्ने उपाय खोजिनुपर्ने चर्चा गरिन्।
क्याम्पस प्रमुख कुँवरले भूरानीतिक सन्तुलनमार्फत आर्थिक वृद्धि हासिल गर्दाका जटिलता केलाउनुपर्ने आवश्यकता औंल्याए। प्रमुख कुँवरले भने, ‘एमसीसी र बीआरआई कार्यान्वयन गर्दा संयमता अपनाई सन्तुलित आर्थिक वृद्धिको नीति अंगीकार गर्नुपर्छ।’