काठमाडौं। ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु, वित्त तथा लैंगिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका सीईओ रत्नराज वज्राचार्य तथा आईएफसीका दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरे।
सम्झौताबमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यासअनुरुप परिमार्जनलगायत विषयमा परामर्श दिनेछ।
आईएफसीले जलवायु, वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रममा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ।
आईएफसीले बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनालगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ।
आर्ईएफसीसँगको सम्झौताले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिने विश्वास बैंकको छ।
बैंकले हाल ३५४ शाखा, ३७९ एटिएम, २७७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।