काठमाडौं। मौसममा आएको खराबीको कारण लुक्ला, पोखरा र जोमसोमको उडान पूर्ण रुपमा बन्द भएको छ। मौसम धूमिल भएर हल्का वर्षा भएसँगै हवाई उडान प्रभावित भएका हुन्। मौसममा आएको बदलीले पर्यटकीय सिजनका बेला सम्बन्धित गन्तव्यमा पुगेका र पुग्ने क्रममा रहेका स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका हुन्।
बिहीबार बिहानैदेखि मौसममा आएको खराबीको कारण लुक्ला जान रामेछाप विमानस्थलमा पुगेका विदेशी एवं स्वदेशी पर्यटक अलपत्र परेको तारा एयरका राप्के टी शेर्पाले जानकारी दिए। पर्यटकीय सिजन सुरु भएसँगै लुक्ला जाने पर्यटकहरुका लागि रामेछापबाट जहाज उड्ने गरेको छ।
ताराको मात्र लुक्लामा दैनिक १५ देखि १७ उडान हुने गरेको थियो। विहान २ उडानपछि रोकिएको शेर्पाको भनाइ छ। यस्तै समिट एयरको उडान पनि रोकिएको छ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि विहानै देखि बन्द रहेको छ। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार पोखरा विमानस्थल बन्द हुदा यात्रुहरु अलपत्र परेका छन्। पोखरा विमानस्थल बन्द हुदा जोमसोमको उडान समेत प्रभावित भएको छ।
पोखरा हुदै जोमसोम जाने विदेशी एवंम स्वदेशी पर्यटकहरु पोखरामै रोकिएका छन्। जोममा समिट र तारा एयरले उडान गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पहाडी र हिमाली क्षेत्रका विमानस्थलहरुमा उडान बन्द भएको छ। त्रिभुवन विमानस्थलमा भने उडान नियमित रहेको जनाएको छ।
काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा ४ वटा जहाज होल्ड भएका छन। जनकपुर विमानस्थलका प्रमुख भिमदत्त पन्तका अनुसार विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलायन्सको जहाज पनि जनकपुर विमानस्थलमै डाइभर्ट गरिएको र काठमाडौंबाट उडेको बुद्ध एयरको माउन्टेन फ्लाइट पनि जनकपुर विमानस्थलमा ल्याइएको छ।
मौसममा आएको बदलीको कारण हिमाली क्षेत्रमा जाने हेलिकोप्टरहरु समेत रोकिएको छ। हेलि एभरेष्टका सिताराम सापकोटाले विहानैदेखि उडान रोकिएको बताए।
आवश्यक बन्दोबस्तीका सामानहरु गन्तव्यमा पुर्याउन समस्या भएको उनको भनाइ छ। यो सिजनमा सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि धेरै विदेशी पर्यटकहरु आउने गरेका छन्।