काठमाडौं। मलेसियन सरकारी ब्याकबेन्चरले आजियाटा समूह (बिएचडी आजियाटा)ले नेपालमा गरेको लगानीबाट भएको कुल घाटाबारे सरकारलाई स्पष्टीकरण दिन आग्रह गरेका छन्।
मलेसियाली सरकारका ब्याकबेन्चर हसन अब्दुल करिम (पीएच–पसिर गुदाङ)का अनुसार आजियाटाले नेपालमा गरेको लगानीले कुल ६.३ बिलियन (आरएम) घाटा बेहोरेको छ। यो मलेसियाली विकास बीएचडी (१एमडिबी) ऋणको तुलनामा ठूलो मात्रा हो।
मलेसियाली सरकारका ब्याकबेन्चर हसन अब्दुल करिमले नेपालमा आजियाटाको घाटाबारे बुझ्न माग गरेका हुन्। तस्बिर, द स्ट्रेस्ट टाइम्स/बिजनेस टाइम्स,मलेसिया
‘यसमा सार्वजनिक कोष समावेश छन्। मन्त्रालयबाट यस मुद्दामा स्पष्ट हुन अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘मलाई यस विषयमा सचेत पनि गराइएको थियो। हाल आजियाटाको सहायक इन्डोनसियालगायत बाहिरी देशमा पनि घाटा भएको देखिएको छ।’
उनले आफूहरुले घरेलु रूपमा गर्ने खर्चमा विवेकशील भएको एवं सोहीअनुसार अनुदान कटौती गर्ने र पेन्सन प्रणाली पुनर्संरचना गर्ने उल्लेख गरेका छन्।
‘सार्वजनिक रूपमा लगानी गरिएका हाम्रा सरकारसँग जोडिएका संस्थानहरू अव्यवस्थित वा जुनसुकै कारणले विदेशमा पैसा गुमाउँछन्, जुन उपयुक्त छैन’ आपूर्ति विधेयक–२०२४ (विनियोजन खर्चको पुनर्विभाजन) माथिको छलफलमा करिमले भनेका छन्।
उनले जीएलसीले अर्बौं नोक्सान गरेको खण्डमा पनि समस्या समाधान गर्न अग्रसर हुन सरकारलाई आग्रह गरे। ‘हामी आशा गर्छौं कि हाम्रो जीएलसीले कर्मचारी सञ्चय कोष (इपी)जस्तै काम गर्नेछ, जसले नाफा कमाउँछ।’
आजियाटाले गत डिसेम्बरमा विभिन्न सर्तसहित कुल ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद स्पेक्ट्रलाइटलाई बिक्री गरेको विषय बाहिरिएको थियो।
त्यसमध्ये ५ करोड डलर पनि दुई चरणमा भुक्तान हुने सम्झौतामा भएको थियो। खरिद–बिक्री सम्झौता भएको ६ महिनाभित्र स्पेक्ट्रलाइटले ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र र बाँकी रकम ४ वर्षभित्र बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
आजियाटाले उल्लेख गरेअनुसार नेपालले आजियाटामा ४३५ मिलियन अमेरिकी डलर कर तथा दायित्व थपेकोलगायत कारणले नेपाल छाड्नुपरेको विषय उल्लेख छ।