काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नाम मात्रै जोडिएको र अनियमिततामा आफू संलग्न नभएको प्रस्टीकरण दिएका छन्।
ग्यालेक्सी फोके टेलिभिजनमा काम गर्दा सहकारीको करोडौं रकम अपचलनमा संलग्न भएको दाबीसहित प्रतिपक्षी कांग्रेसले राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका बेला गृहमन्त्री लामिछानेले आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आफूले बदमासी नगरेको बताएका हुन्।
समिति बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा लामिछाने नामक व्यक्ति जोडिएको भन्दै गृहमन्त्री रविलाई प्रश्न सोधेका थिए।
बडुको प्रश्न वरपर रहेर गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्रै जोडिएको तर अनियमितता नगरेको दाबी गरे। ‘जुन सहकारीमा अर्बौं रकमको अनियमितता भएको छ, त्यहाँ मेरो नाम मात्रै जोडिएको हो। मैले बदमासी गरेको छैन। केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे लगाएको छैन’, उनले भने।
अदालतमा मुद्दा दर्ता भए पनि आफू प्रतिवादी नभएको र बयानमा नाम उल्लेख नभएको उनले जिकिर गरे। रास्वपा सरकारमा नहुँदा कांग्रेस सम्मिलित सरकारले हालेको मुद्दामा रविको नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको उनले दाबी गरे। भ्रष्टाचारविरुद्ध जुनसुकै पार्टीका मान्छे भए पनि नछाड्ने उनले बताए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबाट पक्राउ परेर तीन दिनमै छाडिएका सत्ता गठबन्धनका नेता कृष्णबहादुर महरालाई माफी नदिएको गृहमन्त्री लामिछानेले बताए। महरालाई हाजिरी जमानीमा मात्रै छाडिएको उनको भनाइ छ।