काठमाडौं। पछिल्लो समय इन्टरनेटमा आधारित भ्वाइस टेलिफोन सेवाको विकास भएसँगै म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएपजस्ता एप्लिकेसनको ब्यापक प्रयोग हुँदै गएको छ। यसले अन्तर्राष्ट्रिय सेवातर्फ मात्र नभई मुलुकभित्रकै भ्वाइस तथा एसएमएस सेवाको बजार घट्दो क्रममा छ। डेटा सेवाको व्यापारमा परिमाणात्मक वृद्धि भए पनि भ्वाइसतर्फको गिरावटले टेलिकमको व्यापार खुम्चिँदै गएको छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को भ्वाइस सेवाको राजस्व २५ अर्ब १ करोड रुपैयाँ रहेकामा आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा २२ अर्ब ५६ करोड रुपैयाँमा खुम्चिएको छ। यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा ८ अर्ब २१ करोड रहेको इन्टरनेट सेवाको राजस्व आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा बढेर ११ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
टेलिकम पब्लिक कम्पनी भएकाले उसले यस्ता तथ्यांक सार्वजनिक गर्ने भए पनि निजी दूरसञ्चार कम्पनी एनसेलले भने यस्तो तथ्यांक उपलब्ध गराएको छैन। यद्यपि, टेलिकमको जस्तै एनसेलको पनि भ्वाइसतर्फको बजार खुम्चिँदै गएको र डेटा विस्तारमा ध्यान केन्द्रित गरेको विषयमा असहमत हुने ठाउँ छैन। यसरी भ्वाइसतर्फको बजार घट्दै गएपछि दूरसञ्चार (टेलिकम) कम्पनी हाल डेटा व्यवसाय विस्तारमा केन्द्रित भएका छन्।
ओभर द टप (ओटिटी)का कारण भ्वाइतसर्फको व्यवसाय खुम्चिँदै गएपछि टेलिकम कम्पनीहरू डेटातर्फ ग्राहक बढाउने र विस्तार गर्ने कार्यमा लागिपरेका हुन्। डेटाको व्यवसाय राम्रो बनाउन र ग्राहकलाई जतिसक्दो आफूतर्फ आकर्षण गर्न टेलिकम कम्पनी प्रतिस्पर्धात्मक ढंगमा प्याकेजसहित अघि बढिरहेका छन्।
टेलिकमको ठूलो व्यापार हिस्सा र आम्दानीको मुख्य स्रोतको रुपमा रहेको भ्वाइसतर्फको प्रयोग घट्दै गएपछि हाल डेटा व्यापार विस्तारमा लागेको नेपाल टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराई बताउँछन्। ‘भ्वाइसतर्फको बजार ओटिटीले झन्झन् धराशयी बनाउँदै लगेको छ। यसले गर्दा डेटातर्फ जानुपर्ने बाध्यता टेलिकम कम्पनीलाई छ,’ सहायक प्रवक्ता भट्टराई भन्छन्, ‘म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएपलगायत माध्यमबाट मानिस एकअर्कामा कुराकानी गर्दा भ्वाइस सेवाको व्यापार घट्दै गएको छ।’
भट्टराईका अनुुसार हाल टेलिकम कम्पनीले ग्राहकलाई प्याकेजमा डेटा उपलब्ध गराउने र आफूतर्फ आकर्षण गर्ने योजनाअनुरप काम गरिरहेका छन्। डेटा प्याकेज दिएर दिगो ग्राहक बनाउने मुख्य योजनामा टेलिकम कम्पनीहरू अघि बढेका छन्।
सोहीअनुरुप टेलिकम कम्पनीले डेटातर्फको अफर र प्याकेज सेवा विस्तार गर्दै लगेका छन्। विशेषगरी नेपाल टेलिकम र एनसेल कम्पनी डेटा प्याक र अफर दिएर ग्राहक आकर्षण गर्दै व्यवसाय टिकाउने योजनामा छन्।
टेलिकम कम्पनीले डेटातर्फको अफर र प्याकेज सेवा विस्तार गर्दै लगेका छन्। विशेषगरी नेपाल टेलिकम र एनसेल कम्पनी डेटा प्याक र अफर दिएर ग्राहक आकर्षण गर्दै व्यवसाय टिकाउने योजनामा छन्।
वैशाखयता टेलिकमका आधा दर्जन बढी डेटा प्याकेज
२०८० को वैशाखदेखि यता मात्रै नेपाल टेलिकमले आधा दर्जन बढी अफर तथा प्याकेज ल्याएको छ। टेलिकमले यस वर्षको सुरुमै नयाँ वर्ष अफर ल्याएको थियो। यस अफरमा टेलिकमले ४९ रुपैयाँमा एक दिन चलाउन मिल्ने एक एमबिपिएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिन चलाउन मिल्ने ६ जिबी डेटा, १९९ रुपैयाँमा सात दिन चलाउन मिल्ने १३ जिबी डेटा र २९४ रुपैयाँमा १० दिन चलाउन मिल्ने २० जिबी डेटा अफर ल्याएको थियो।
यस्तै, टेलिकमले ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डेटासमेत उपलब्ध गराएको थियो। यही अफरमा टेलिकमले बोनस अन रिचार्जको प्याकेज पनि ल्याएको थियो। यसमा २०० देखि ४९९ सम्मको रिचार्ज गर्दा प्रतिदिन एक जिबीका दरले चलाउन मिल्ने दुई जिबी डेटा र ५०० वा सोभन्दा माथि रिचार्ज गर्दा प्रतिदिन दुई जिबीका दरले चलाउन सकिने ८ जिबी डेटा उपलब्ध गराएको थियो।
यस्ता योजना टेलिकमले धेरै संख्यामा ल्याएको छ। कम्पनीले वैशाख १७ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अवसरमा ४९ रुपैयाँमा एक दिन चलाउन मिल्ने एक एमबिपिएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जिबी डेटालगायतका सुविधा ल्याएको थियो। यसपछि टेलिकमले जेठ १९ मा सजिलो अनलिमिटेड डेटा प्याकेज ल्याएको थियो। यसमा ९ जिबीसम्मको डेटा उपलब्ध हुने व्यवस्था थियो।
असार २९ मा पनि टेलिकमले पुनः समर अफर उपलब्ध गराएको थियो। यसमा अल टाइम डाटा प्याकअन्तर्गत पहिला ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डेटा प्याक उपलब्ध भइरहेकामा सोही रकममा २० जिबी डेटा र ८०० रुपैयाँमा २५ जिबी डेटा दिइरहेको स्थानमा ३५ जिबी डेटा उपलब्ध गराउने योजना ल्याएको थियो।
यसपछि भदौ ३० मा टेलिकमले तीज र संविधान दिवस अवसरमा पनि डेटा प्याक उपलब्ध गराएको थियो। यसमा एक एमबिपिएसको अनलिमिटेड डेटादेखि ३० जिबीसम्मको डेटा प्याक उपलब्ध गराइएको थियो।
असोज २४ मा ‘अटम अफर’ ल्याएको टेलिकमले असोज २७ मा दसैं, तिहार तथा छठलगायत पर्व अवसरमा अर्को योजना ल्याएको थियो। कम्पनीले विभिन्न विद्यार्थीहरूलाई सिम उपलब्ध गराउने कार्यमा पनि ९० मा उपलब्ध हुने सिममा ३०० एमबी डेटा उपलब्ध गराएर डेटातर्फ ग्राहक आकर्षण गर्ने प्रयास गरेको पाइन्छ।
टेलिकमले पुन २७ बाट लागू हुने गरी एक दिनका लागि मान्य हुने ४०० एमबी डेटादेखि पाँच दिनका लागि मान्य हुने ६ जिबीसम्मको डेटा उपलब्ध हुने योजना ल्याएको थियो। वार्षिकोत्सव अवसरमा पनि विभिन्न योजना अगाडि सारेको टेलिकमले प्रजातन्त्र दिवस अवसरमा फागुन ६ मा डेटा प्याक योजना अघि सारेको थियो। यसअन्तर्गत फागुन १२ सम्म लागू हुने गरी विभिन्न सुविधा र डेटा प्याक उपलब्ध गराएको थियो।
एनसेल पनि डेटातर्फ ग्राहक विस्तारमा केन्द्रित
त्यसो त, नेपाल टेलिकमले मात्रै होइन, निजी दूरसञ्चार कम्पनी एनसेलले पनि डेटातर्फ ग्राहकलाई आकर्षण गर्न सोहीअनुसारका योजना निरन्तर ल्याउँदै आएको छ। एनसेलले २०८० को वैशाखदेखि हालसम्म झन्डै आधा दर्जन बढी प्याकेज ल्याएर डेटा प्याकलाई नै प्राथमिकता दिएको पाइन्छ।
एनसेलले गत जेठ ४ मा माई प्लान योजना अघि सारेको थियो। यसमा कम्पनीले ग्राहकका लागि माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई योजना उपलब्ध गराएको थियो। यसमा ग्राहकले माई फ्लेक्सी प्लानअन्तर्गत अधिकतम २०० जिबीसम्म डेटा प्राप्त गर्न सक्ने अफर थियो।
यसपछि असोज १५ मा एनसेलले ‘अलवेज अन डेटा’ अफर सार्वजनिक गरेको थियो। यसमा ग्राहकले १०० रुपैयाँमा २८ दिनसम्म मान्य हुने १ जिबी डेटाको सुविधा दिएको थियो। यसै अफरअन्तर्गत एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थप गरेको थियो। १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको सुविधा ग्राहकले पाउने व्यवस्था थियो।
सोही अफरअन्तर्गत एनसेलले करसहित ४५९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जिबी डेटा लिन पाउने व्यवस्था गरेको थियो। यसबाहेक यो प्याकमा ग्राहकले ८ जिबी अल टाइम प्याक पनि पाउने सुविधा थियो।
एनसेलल गत माघ २२ मा पनि रोमिङ सेवा योजना ल्याएको थियो। यस योजनाअन्तर्गत पनि ५०० एमबी डेटा बोनस पाउने व्यवस्था गरेको थियो। गत माघ २४ मा पनि एनसेलले ‘डबल मजा प्याक’ ल्याएको थियो। यस अफरमा ग्राहकले ७ दिने समयसीमा हुने १५० रुपैयाँमा ५ जिबी डेटा वा २०० रुपैयाँमा ८ जिबी डेटा लिन सक्ने सुविधा दिएको थियो।
सोही योजनामा रहेर ८८८ रुपैयाँमा २८ दिने समयावधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्ने बनाइएको थियो। यदि कुनै ग्राहकले ८ जिबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरे ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्ने सुविधा पनि एनसेलले ग्राहकका लागि दिएको थियो।