काठमाडौं। अस्वस्थ प्रतिस्पर्धा र एकाधिकारका कारण सार्वजनिक यातायातले नागरिकलाई पीडा दिइरहेका बेला पछिल्लो समय चर्चा बटुल्दै आएका पठाओ, टुटल, इनड्राइभलगायतमा पनि सिन्डिकेट झल्किने गरी क्यू प्रणाली लागू गर्न थालिएको छ।
यस्तो क्यू प्रणाली अनलाइन राइडले नभई अफराइडमा चल्ने राइडहरुले बसाल्न लागेको देखिएको हो। पठाओले सञ्चालन गर्दै आएको बाइक, कारको राइड सेवामा अफराइडहरुले क्यू प्रणाली बसाएर सिन्डिकेटको झल्को दिएका हुन्।
अफराइडहरुले गन्तव्यमा यात्रु लैजानसमेत क्यू बस्नुपर्ने अन्यथा कुटाइ खानुपर्ने अवस्थामा पु्र्याएको अनलाइन राइडर बताउँछन्।
अफराइडले सिन्डिकेटलाई प्रश्रय दिएको प्रमाण यसरी बुझौं। राइडर एद्रिन लामा चैत १ मा गंगबुको बिजी मलबाट यात्रु बोकेर मनमैजु पुगे।
उनी मनमैजुको इन्द्रेणी पुल पुगे। त्यहाँ पुग्दा लामाजस्ता दर्जनौं राइडर यात्रु पर्खिबसेका रहेछन्। त्यहाँको नियम देखेर उनलाई अचम्म लाग्यो। ‘अफलाइन राइडर त पहिलेदेखि देखिन्थे तर उनीहरुले ट्याक्सीले जस्तो पहिले आउनेले पहिले यात्रु बोक्न पाउने सिन्डिकेट लगाएका रहेछन्,’ लामाले भने।
अर्का राइडर सागर थापाले पनि यस्तो धेरै अनुभव भोगेका छन्। अफलाइन चलाउने राइडरले सिन्डिकेटलाई संस्थागत गर्न खोजेको थापा बताउँछन्। ‘हामी उनीहरुको क्यूमा गएर अनलाइन राइड लिन थाल्यौं भने कुट्लान्झैं गर्छन्। केही समयअघि त बुङमती पुल र ठमेलको ठहिटीमा अनलाइन राइडरमाथि अफलाइन राइडरले कुटपिटै गरे,’उनले भने।
यस्तो सिन्डिकेटले प्रत्यक्ष रुपमा यात्रुलाई घाटा हुने थापा बताउँछन्। ‘यसरी उनीहरु क्यूमा बसेर यात्रु चढाएपछि राइडरले जति पैसा भन्यो यात्रुले त्यति नै दिनुपर्छ। एपले तोकेको मूल्यमा यात्रु बोक्छु भन्ने राइडरले त्यहाँ बस्नै पाउँदैनन्,’ उनले भने, ‘पहिलो कुरा त अफलाइन राइड लिनु नै गलत हो। दोस्रो कुरा, त्यसरी क्यू राखेर यात्रुसँग पैसा असुल्नु अत्याचार हो।’
यस्ता अफलाइन राइडको जानकारी आए तत्काल सस्पेन्ड गर्ने गरेको पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल बताउँछिन्। ‘हामीलाई जानकारी र गुनासो आएसम्म यस्ता राइडरलाई सस्पेन्ड गर्ने गरेका छौं। हाम्रो एप अनै नगरी वा हाम्रो नाम मात्र प्रयोग गरेर राइड लिनेलाई कसरी कारवाही गर्ने?’ उनले भनिन्।
अनधिकृत काम गर्नेलाई नियामक संस्थाले कारबाही गर्नुपर्ने उनको तर्क छ। ‘यस्ता विकृति रोक्न ट्राफिक प्रहरीलगायतका नियामक संस्थालाई हामी हरसम्भव प्रयास गर्छौं,’ हमालले भनिन्।
यसरी अफराइड लिने, यात्रु तान्न जाने र दर्ता नभएको अनधिकृत एपबाट यात्रु बोलाउनेलगायत राइडरलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए।
‘यात्रुका यस्तै समस्यालाई सम्बोधन गर्न यात्रुमैत्री अभियान सुरु गरिएको छ। यो अभियानमार्फत ४० जनाको टास्क फोर्स बनाइएको छ,’ उनले भने। यीलगायत यात्रु ठगिने समस्या समाधान गर्न सेवाप्रदायकसँग पनि छलफल भइरहेको श्रेष्ठले बताए।
‘राइडरले सम्बन्धित कम्पनीको एप दर्ता गरेपछि अफलाइन चलाएको हो भनेर जिम्मेवारीबाट पछि हट्न मिल्दैन। बरु उहाँहरुलाई के सहयोग गर्नुपर्छ, हामी समन्वय गर्न तयार छौं,’ उनले भने। यस्ता समस्यामा अनलाइन राइडर वा यात्रुले उजुरी दिए ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने श्रेष्ठ बताउँछन्।