काठमाडौं। सेकुवाका लागि नेपालको लोकप्रिय ब्रान्ड बाजेको सेकुवा अब अस्ट्रेलियाको मेलबर्न सहरमा खुल्ने भएको छ। विश्वभर छरिएका नेपालीमाझ पुग्ने उद्देश्यका साथ बाजेको सेकुवाले अस्ट्रेलियाको मेलबर्नमा पहिलो फ्रेन्चाइजी खोल्न पहिलो सम्झौता भएको हो।
बाजेको सेकुवाका फाइनान्स कन्ट्रोलर रविन चौहानका अनुसार मेलबर्नमा शाखा खोल्न केही दिनअघि मात्र सम्झौता भएको छ। मेलबर्नमा रहेका नेपाली व्यवसायीसँग बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले पहिलो सम्झौतामा हस्ताक्षर गरेको उनले बताए।
यसअघि अस्ट्रेलियाको सिड्नीमा शाखा खोल्ने गरी सम्झौता गरे पनि विविध कारणले रोकिरहेको अवस्थामा मेलबर्नका लागि नयाँ सम्झौता भएको हो। ‘अबको केही महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सम्झौतापत्रमा हस्तारक्षर भएको छ’, फाइनान्स कन्ट्रोलर चौहानले भने, ‘यो हाम्रो अस्ट्रेलियामा पहिलो हुनेछ।’
नेपालबाट विदेशमा फ्रेन्चाइजी खोल्ने पहिलो रेस्टुरेन्ट नै बाजेको सेकुवा हो। अहिले बाजेको सेकुवाका तीन वटा फ्रेन्चाइजी अमेरिकामा सञ्चालन हुँदै आएका छन्। अहिले अमेरिकाकै अन्य ठाउँमा समेत शाखा सञ्चालन तयारी गरिरहेको छ।
बाजेको सेकुवा विदेशमा साझेदारी मोडलमा सञ्चालन हुँदै आएको छ। अमेरिकामा शाखा सञ्चालनका लागि ट्रेडमार्क दर्ता गरेर सञ्चालन गरेको छ।
जापान र दक्षिण कोरियामा तयारी
नेपालमा आक्रामक रुपमा आफ्नो शाखा विस्तार गरेको बाजेको सेकुवाले विदेशमा पनि उपस्थितिलाई बलियो बनाउन लागिरहेको छ। कोभिडपछि विश्वबजार नै आर्थिक मन्दीमा गएको कारण केही समय आफुलाई स्थिर राखेको बाजेको सेकुवाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन जापान र दक्षिण कोरियाका सहरमा शाखा खोल्ने तयारी तीव्र बनाएको छ।
अध्यक्ष भण्डारीले अहिले जापान र कोरियाका नेपाली व्यवसायीलाई साथमा लिएर शाखा विस्तारको तयारीमा लागेको जनाएको छ।
‘अबको केही महिनाभित्रै ती दुई मुलुकमा शाखा विस्तारका लागि सम्झौता गर्ने गरी गृहकार्य भइरहेको छ,’ फाइनान्स कन्ट्रोलर चौहानले भने।
विदेशमा फ्रेन्चाइजी खोल्न पहिलो चरणमा २० हजार अमेरिकी डलर बुझाउनुपर्छ। तर, पार्टनरसिपमा सञ्चालन गर्न भने केही सर्त पूरा गर्दा हुनेछ। अहिले बेलायतलगायत खाडी मुलुकबाट पनि शाखा सञ्चालनका लागि धेरै प्रस्ताव आइरहेको जनाएको छ। हाल बाजेको सेकुवाका विदेशसहित २१ आउटलेट सञ्चालनमा छन्।