काठमाडौं। सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला गाइडलाई रेस्क्युसम्बन्धी तालिम दिइएको छ। सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएका हुन्।
माउन्टेन गाइड बन्न आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा एवं हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीप तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए।
नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम काठमाडौंको जकडोल जंगलमा चैत ७ बाट सुरु भएर आज सम्पन्न भएको हो।
पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुने संख्या वार्षिक रुपमा बढ्दै गएकाले नियन्त्रणका लागि तालिम फलदायी हुने हुँदा तालिम आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दाबा फुटी शेर्पाले बताइन्। सीप र दक्षता विनको जनशक्तिले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश जाने भएकाले यस्ता तालिम आयोजना गर्नु आवश्यक भएको उनको भनाइ छ।
उद्धारसम्बन्धी २५ महिला गाइड सहभागी तालिम पहिलो पटक आयोजना गरिएको बताउँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिम आयोजना गर्ने बताए।
सरकारले राखेको पर्यटन दशक (२०२३–२०३३) को उद्देश्य पूरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्न आवश्यक भएको उनको धारणा छ।
भीर र खोंचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेका व्यक्तिलाई सहज रुपमा उद्धार गर्न र सुरक्षित स्थानमा पु¥याउनेलगायत सक्ने गरी तालिममा अभ्यास गराइएको प्रशिक्षकले बताए।
ट्रेकिङ गाइड र आरोही मात्र सहभागी तालिमले सहभागीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पु¥याउने आयोजकले जनाएको छ। हालसम्म नेपालमा दाबा याङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएको छ।