काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सञ्चालक समिति पदाधिकारी र नेपालको निजी क्षेत्रमा आबद्ध नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारी सम्मिलित बैठक चन्द्रागिरीमा सम्पन्न भएको छ। बैठकमा महासंघ अध्यक्ष चन्द्र ढकालले एआईआईबीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
छलफलमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसर खोजीमा विशेष छलफल भएको महासंघले जनाएको छ। एआईआईबीले यातायात, ऊर्जा र सहरी विकासलगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो। नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको महासंघले बताएको छ।
महासंघ अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए। उनले एआईआईबी बोर्ड पदाधिकारीलाई निजी क्षेत्र एआईआईबीजस्ता संस्थासँग रणनीतिक साझेदारीमार्फत सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए। ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकाले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँचमा लैजान सकिने औंल्याए।
ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए। उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी पदाधिकारीलाई जानकारी गराए। ढकालले भने, ‘एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनामा प्रमुख साझेदार भएको छ। हामी सहकार्यका लागि नयाँ मार्ग खोज्न उत्सुक छौं।’
अध्यक्ष ढकालले सरकारले देशको लगानी वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको एआईआईबी बोर्ड पदाधिकारीलाई जानकारी गराएको महासंघले जनाएको छ।
लगानीबारे थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ सम्म आयोजना हुने नेपाल लगानी सम्मेलनमा एआईआईबीलाई पदाधिकारीलाई निम्तो दिए। ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए।