काठमाडौं। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात व्यवसायीले अस्थायी रुट अनुमति पत्र (पटके) को अनलाइन सेवा उद्घाटन गरेका छन्। मंगलबार भक्तपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा मन्त्री लम्सालले अनलाइन सेवा उद्घाटन गरेका हुन्।
मन्त्री लम्सालले पटके भुक्तानीबाट व्यवसायी वर्षौंदेखिको अन्योल र अव्यावहारिक झन्झटबाट मुक्त हुने बताए। सेवाग्राही स–सानो कामले जस्तो परिस्थितिमा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन सेवा सुरु गरिएको उनको भनाइ छ।
मन्त्री लम्सालले भने, ‘यातायात व्यवस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्न ६÷७ महिना अगाडिदेखि काम थालिएको थियो। अबदेखि घरबाटै सेवा लिन सकिन्छ।’
यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीमैत्री, पारदर्शाी, व्यवस्थित बनाउन र विशेषगरी रातीको समयमा पटके इजाजतको सेवा लिने र दिनेबीच मानवीय दृष्टिले पनि सहज बनाउन अनलाइन सेवा प्रभावकारी हुने विश्वास मन्त्री लम्सालले गरे।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भीड कम हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बताइन्।
अनलाइन प्रणालीमार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटोका लागि इजाजत लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिरेर सोबापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्छन्। यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मार्फत जारी हुने कार्यालयले जनाएको छ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला, उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेल, यातायात व्यवस्था कार्यालयका प्रमुख डण्ड बस्नेत, नेत्र भट्टराई, विमल भट्टराई, शिवप्रसाद निरौला उपस्थित थिए।