काठमाडौं। सरकारले निर्माणाधीनबाहेकका थप १ हजार ६ सय ३६ झोलुंगे पुल निर्माण गर्ने भएको छ। प्रत्येक ३० मिनेटको पैदल दूरीमा एउटा झोलुंगे पुल बनाउने नीतिअनुसार थप पुल बनाउनुपर्ने आवश्यकता देखिएको स्थानीय पूर्वाधार विभाग (डोली) ले जनाएको छ।
तर, सरकारले ३० मिनेटभन्दा कम दूरीमा झोलुंगे पुल बनाउने भए अझ बढी पुल बनाउनुपर्ने हुन्छ। यद्यपि कति पुल चाहिन्छ भनेर अझै प्राविधिक अध्ययन भइसकेको छैन।
अहिले २ हजार ३ सय ६४ पुल निर्माणाधीन अवस्थामा छन् भने ३ तहका सरकार मिलेर हालसम्म १० हजार झोलुंगे पुल निर्माण गरिसकेका छन्। विभागका सहसचिव एवं प्रवक्ता महेशचन्द्र न्यौपानेका अनुसार निर्माणाधीन र नयाँ बनाउने गरी अहिले देशभर ४ हजार झोलुंगे पुल आवश्यक छन्।
हाल निर्माण सम्पन्न भएका १० हजार बढी र अब निर्माण हुने ४ हजार गरी देशभर १४ हजार वटा झोलुंगे पुल बन्नेछन्। १४ हजार झोलंगे पुल बनाएपछि मुख्य आवश्यकता पूरा हुने प्रवक्ता न्यौपाने बताउँछन्।
४ हजार झोलुंगे पुल बनाउन संघ, प्रदेश र स्थानीय सरकार मिलेर ३० अर्ब रुपैयाँ बढी खर्च गर्नुपर्ने उनको भनाइ छ। विभागले ३ वर्षभित्र ४ हजार पुल निर्माण गर्ने योजना बनाएको छ। त्यसका लागि प्रत्येक आर्थिक वर्ष १० अर्ब रुपैयाँ आवश्यक हुन्छ। ‘३ वर्षमा ४ हजार झोलुंगे पुल बनाउन प्रत्येक वर्ष १० अर्ब बजेट चाहिन्छ तर, अहिले ५ अर्बभन्दा रकम आउँदैन। यसले गर्दा लक्ष्यअनुसार काम गर्न हामीलाई सजिलो छैन,’ प्रवक्ता न्यौपानेले भने।
प्रत्येक वर्ष ५ अर्ब रुपैयाँ मात्रै विनियोजन गर्ने हो भने ४ हजार पुल बनाउन ७ वर्षभन्दा बढी समय लाग्ने उनले बताए। नेपालमा ८० लाखदेखि २३ करोड रुपैयाँ लागतसम्मका झोलुंगे पुल निर्माण भएको विभागले जनाएको छ।
विभागको लक्ष्यअनुसार काम गर्न बजेट दोब्बरले बढाउनु पर्ने देखिन्छ। तर, सरकार आर्थिक दबाबमा रहेका कारण बजेट बढाउने सम्भावना कम छ।
चालू आर्थिक वर्ष विभागसँग पुँजीगत बजेट ११ अर्ब ३३ करोड रुपैयाँ छ। यसमध्ये झोलुंगे पुलका लागि मात्रै २ अर्ब ८६ करोड रुपैयाँ विभागले विनियोजन गरेको थियो। यस्तै, अर्थ मन्त्रालयले संघीय शसर्त अनुदान शीर्षकमा प्रदेशहरुलाई ८ करोड ८० लाख र स्थनीय तहलाई २ अर्ब १७ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ।
फागुनसम्म कोशी प्रदेशमा २ हजार १ सय ८३, मधेस प्रदेशमा २ सय १, बागमती प्रदेशमा १ हजार ८ सय ४१ झोलुंगे पुन निर्माण सम्पन्न भइसकेका छन्। गण्डकीमा २ हजार २ सय ६४, लुम्बिनीमा १ हजार ४ सय १९, कर्णलीमा १ हजार २४२ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ५९ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको विभागको तथ्यांक छ।
हाल निर्माण सम्पन्न भएका १० हजार बढी र अब निर्माण हुने ४ हजार गरी देशभर १४ हजार वटा झोलुंगे पुल बन्नेछन्। १४ हजार झोलंगे पुल बनाएपछि मुख्य आवश्यकता पूरा हुने प्रवक्ता न्यौपाने बताउँछन्। केही ठाउँमा नयाँ पुलको माग हुने र पुरानालाई मर्मत गर्ने काम निरन्तर रहने उनको भनाइ छ।