काठमाडौं। संखुवासभाबाट भोजपुरमा पानी लगेर ४१.०६ मेगावाट क्षमताको गुराँस हाइड्रोपावर निर्माण सुरु भएको छ। ग्यास उद्योगी शिव घिमिरेको एसजी ग्र्रुपले ८ अर्ब लगानीमा जलविद्युत् आयोजना निर्माण सुरु गरेको हो।
गत फागुनमा संखुवाखोला जलविद्युत् आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेसँगै निर्माण अगाडी बढाइएको कार्यकारी अध्यक्ष घिमिरेले जानकारी दिए। चार वर्षभित्रमा निर्माण सम्पन्न गरी राष्ट्रिय आयोजनामा जोडिसक्ने उद्देश्यका साथ काम अगाडि बढेको छ।
आयोजनामा करिब ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माण गरी पानी ल्याइनेछ। आयोजनाको पानी भने अरुण नदीमा मिसिनेछ। संखुवासभाबाट पानी ल्याएर भोजपुरमा आयोजना निर्माण हुनेछ।
अहिले आयोजना निर्माणको पूर्वतयारी सुरु भएको अध्यक्ष घिमिरेले बताए। आयोजना स्थलसम्म जाने सडक निर्माण सुरु हुनुका साथै बसोबासका लागि क्याम निर्माणमा जुटेको उनको भनाइ छ।
आयोजनाको बाँध संरचना (हेडवक्र्स) संखुवासभाको सिलिचिङ गाउँपालिकमा पर्छ भने विद्युत्गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा रहेको छ। यो आयोजनाको अध्ययन विद्युत विकास विभागले गरेको हो। सरकारी बास्केटमा रहेको यो आयोजना करिब ४ वर्षअघि विभागले गरेको खर्च तिरेर कम्पनीले विकास गर्ने गरी प्रतिस्पर्धाबाट प्राप्त गरेको हो।
आयोजनाको बिजुली संखुवासभाको शितलपाटी सबस्टेसनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिनेछ।
३० प्रतिशत आईपीओ
आयोजनाले प्रभावितका लागि १० प्रतिशतसहित ३० प्रतिशतको प्राथमिक सेयर(आईपीओ)जारी गर्ने भएको छ। कार्यकारी अध्यक्ष घिमिरेका अनुसार प्रभावित क्षेत्रका लागि अनिवार्य १० प्रतिशत र अन्यका लागि २० प्रतिशतको सेयर जारी गर्ने बताए। यो भनेको २ अर्ब ४० करोड रुपैयाँको सेयर जारी हुनेछ।
आयोजना निर्माण थालिए पनि कुन बैंकले नेतृत्व गर्ने भन्ने विषय टुंगो नलागेको उनको भनाइ छ। ‘अहिले ४÷५ वटा बैंकसँग लगानीका लागि छलफल भइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘अबको केही समयभित्रै बैंकको टुंगो लाग्नेछ। ब्याजदर परिवर्तनले केही समय ढिलाइ भएको हो।’
एलपी ग्यास उद्योग संघका अध्यक्षसमेत रहेका घिमिरेले यसबाहेक ५ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेका छन्। उनको लगानी रहेको तीन वटा जलविद्युत आयोजना बझाङमा सञ्चालनमा आइसकेका छ भने दुई वटा निर्माण चरणमा छन्। घिमिरेले एसजी ग्रुप मार्फत ग्यास उद्योग,जलविद्युत, बैंक तथा फाइनान्स, शिक्षा र मिडिया क्षेत्रमा समेत लगानी विस्तार गरिरहेका छन्।