काठमाडौं। सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा सञ्चालित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले चारतारे होटल स्तरको मान्यता पाएको छ।
पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो। ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐनअनुसार चारतारे स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको छ,’ पर्यटन विभागले भनेको छ।
२५ बिघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम छन्। सानाठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ। सोही पोखरीमा होटलको ’फिस फार्म’समेत छ।
त्यस क्षेत्रमा ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले चारतारे स्तरको मान्यता पाएसँगै व्यापारमा अझ राम्रो गर्ने आश गरिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।
रिसोर्टमा ज्याकुजी, स्पालगायत सुविधा उपलब्ध छन्। हालसम्म ७५ जनाले रोजगारी पाएकामा अब केही समयमै क्यासिनो सञ्चालनपछि झन्डै ३८० जनालाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए।
रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवस अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवं एग्रो टुरिजममार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएबापत राष्ट्रिय सम्मान पाइसकेको छ।
यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भूमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए।