काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी सात वटै प्रदेशमा रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले ग्लोबल मनी वीक अवसरमा विद्यार्र्थी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यले सात वटै प्रदेशमा वित्तीय साक्षरता, प्रभातफेरीका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामग्री प्रसारण गरेको हो।
बैंकले विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा विद्यार्थी, स्थानीय युवाका साथै रोजगार व्यक्ति, किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, महिला तथा विप्रेषण प्रापक सहभागी थिए।
कार्यक्रममा करिब चार हजारलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बिमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी गराइएको बैंकले जनाएको छ।
सोही अवसरमा बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित प्रभातफेरीमा बैंकिङ सेवाअन्तर्गत मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डसहितको र्याली आयोजना गरिएको थियो।
बैंकले विभिन्न सचेतनामूलक भिडियो सामग्री विद्युतीय भुक्तानी, वित्तीय ठगी, सार्वजनिक वाईफाई प्रयोग गर्दा हुन सक्ने जोखिमसम्बन्धी निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको बताएको छ।