काठमाडौं। सत्तारुढ गठबन्धनमा भएको परिवर्तन र अर्थमन्त्री वर्षमान पुनको सकरात्मक अभिव्यक्तिबाट उत्साहित देखिएको सेयर बजार फेरि सिथिल बनेको छ। नेतृत्वबाट पटकपटक सुधारको बाचा गर्ने तर, काम नगर्ने प्रबृत्तिबाट आजित सेयर लगानीकर्ता फेरी अर्थमन्त्री पुनको मिठो बोलीको सिकार भएका त होइनन् भन्ने आशंका सुरु भएको छ। अर्थमन्त्रीप्रतिको अविश्वास गत साताको सेयर कारोबारमा देखिएको छ। गत साता भएको पाँच कारोबार दिनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार दिन घट्दा एक दिन मात्र बढ्यो। गठवन्धन परिवर्तन हुने हल्लापछि ३ सातामा नेप्से सूचकमा ८८ अंकको मात्र बृद्धि देखिएको छ। फागुन २० गते १९६०.३० बिन्दुमा रहेको नेप्से फागुन २९ मा २१११.२१ विन्दुसम्म चढेको थियो। तर, त्यसपछि भने बजारमा सकारात्मक भाव पैदा हुन सकेन र चैत ८ गते २०४८.५७ बिन्दुमा अडिएको छ।
पुन अर्थमन्त्री बनेको तीन साता वित्नै लाग्दा पनि सुझाव माग्नेबाहेक आफ्नै टेबुलमा भएका फाइल खोलेर हेरेका छैनन्। ब्रोकर कमिसन १० प्रतिशतले घटाउनेसम्बन्धी नेपाल धितोपत्र बोर्डको निर्णय, एसएमई प्लेटफर्म सञ्चालन गर्नेसम्बन्धी ‘साना तथा मझौला संगठित संस्थाको निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ नेप्सेको पुनर्संरचना सम्बन्धी फाइल अर्थ मन्त्रालयमा अड्किएको महिनौं भइसकेको छ।
फागुन २३ गते अर्थ मन्त्रालयको जिम्मेवारी लिँदै पुनले ६० लाख लगानीकर्ताको ‘सेन्टिमेन्ट’ सँग जोडिएको सेयर बजार सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका थिए। सत्तारुढ पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सेयर बजारलाई नीतिगत सुधारमार्फत् चलायमान बनाउने विषयसमेत समेटिएका कारण सरकारले पुँजी बजार सुधारका लागि केही कदम चाल्ने आशा लगानीकर्तामा छ। तर, पुन अर्थमन्त्री बनेको तीन साता वित्नै लाग्दा पनि सुझाव माग्नेबाहेक आफ्नै टेबुलमा भएका फाइल खोलेर हेरेका छैनन्। ब्रोकर कमिसन १० प्रतिशतले घटाउनेसम्बन्धी नेपाल धितोपत्र बोर्डको निर्णय, एसएमई प्लेटफर्म सञ्चालन गर्नेसम्बन्धी ‘साना तथा मझौला संगठित संस्थाको निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ नेप्सेको पुनर्संरचना सम्बन्धी फाइल अर्थ मन्त्रालयमा अड्किएको महिनौं भइसकेको छ।
नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन) का पूर्वअध्यक्ष भरत रानाभाट अर्थमन्त्रीले प्राथमिकता दिन्छु भनि गरेको घोषणाको प्रभाव बजारमा देखिसकेकाले अब केही काम नभएसम्म सकारात्मक प्रतिक्रिया देखाउन गाह्रो हुने बताउँछन्। ‘नेपालमा जे–जति काम भएका छन्, ति एकदमै सुस्त गतिमा भएको पाइन्छ। सरकारी घोषणा कार्यान्वयनमा वर्षौं लाग्ने गरेको नजिर छ,’ पूर्वअध्यक्ष रानाभाट भन्छन्, ‘राम्रो गर्छु भने पनि काम केही भएको छैन। बजारका लागि राम्रो नीति कहिले अपाइन्छ भन्ने निश्चित छैन। यसर्थ, बजार आफ्नो गतिमा अघि बढ्न सकेको छैन।’
पुँजीगत लाभकर हटाउने÷घटाउने, सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट सय प्रतिशतमा झार्ने, सेयर धितोमा दिइने १५ र २० करोडको कर्जा सीमा हटाउने अपेक्षामा लगानीकर्ता छन्। त्यसको प्रभाव सेयर कारोबारमा पनि प्रतिबिम्बित हुने गरेको छ। गत साता नेप्सेमा १६ अर्ब २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। अघिल्लो साता १२ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो।
लगानीकर्ता छोटेलाल रौनियार अर्थमन्त्रीले आफ्नो हातमा भएको र तत्काल गर्न सकिने काम नगरेको तर, सुझाव मागेर लगानीकर्तालाई गुमराहमा राख्न खोजेकाले कारोबार रकम र सेयर बजार सूचकमा खास सर्पोट नगरेको बताउँछन्। ‘अर्थमन्त्रीले राम्रो गर्छु भनेर भन्नु भयो तर, केही पनि लागू भएको छैन। पुँजी बजारका लागि गर्छु भनेका सबै काम उधारोको रुपमा छन्,’ रौनियार भन्छन्, ‘पुँजी बजार कसैको विश्वास वा भविश्यको सम्भावनालाई मात्रै हेरेर चल्दैन। एक–दुई दिन विश्वास गरेपनि त्यसपछि परिणाम नै खोज्छ।’ अब बजार सकरात्मक गतिमा अघि बढ्न सरकार र नियामकले देखिने गरी काम गर्नुपर्ने बताउँदै रौनियार भन्छन्, ‘अर्थमन्त्री पुनले पनि सुधारका गफ मात्रै गरेर अल्मल्याउने हुन कि भनेर लगानीकर्ता सचेत भएको जस्तो देखिन्छ।’
अर्थले भने अनुसार नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङले दिएका सुझावलाई अर्थमन्त्रीले कसरी ग्रहण गर्छन् र कति छिटो निर्णय लिन्छन् भन्ने विषयले सेयर बजारको गति निर्धारण हुने लगानीकर्ताको ठम्याइ छ। यो साता पनि अर्थमन्त्रीले सेयर बजारका विषयमा ठोस निर्णय लिएनन् भने सूचक फेरी २००० बाट तल झर्न सक्ने अनुमान लगानीकर्ताको छ। सेयर बजारको सेवालाई प्रतिस्पर्धी बनाउनुपर्ने, कानुनी व्यवस्थाका कमिकमजोरीमा सच्याउनुपर्ने, लगानीकर्तालाई सूचना तथा जानकारी र तथ्यांक सहज ढंगमा दिनुपर्ने, इन्ट्राडे कारोबार सुरु हुनुपर्ने, संस्थागत लगानीकर्ताको संख्या वृद्धि गर्नुपर्नेजस्ता विषयमा अर्थले सकारात्मक भूमिका खेल्ने अपेक्षा लगानीकर्ताले गरिरहेका छन्।